मदनराज उपाध्यायद्वारा कांग्रेस युवा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका युवा नेता मदनराज उपाध्यायले पार्टीको १५औं महाधिवेशनअन्तर्गत खुला युवा केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार मनोनयन दर्ता गराउँदै उनले परिवर्तनकारी युवा चेतना, सुशासन र पार्टीभित्र नीतिगत रूपान्तरणलाई आफ्नो उम्मेदवारीको मुख्य प्राथमिकता बनाएका हुन्। गत वर्ष भदौमा भएको ’जेनजी’ आन्दोलनपछि मुलुकको राजनीतिमा युवाहरूको भूमिका थप सशक्त र निर्णायक बनेको पृष्ठभूमिमा उपाध्यायले आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
युवा पुस्तालाई केवल चुनावी घोषणापत्र वा आश्वासनमा मात्र सीमित नराखी राज्यको शासन, नीति निर्माण र निर्णय प्रक्रियामा प्रत्यक्ष साझेदार बनाउनुपर्ने धारणा उनले व्यक्त गरेका छन्। उपाध्यायले पार्टीको नेतृत्वमा नयाँ अनुहारको आगमनसँगै राजनीतिक व्यवहार, पारदर्शिता र जवाफदेहितामा आमूल परिवर्तन हुनुपर्नेमा जोड दिएका छन्।
स्वदेशमै रोजगारी र उद्यमशीलताको वातावरण सिर्जना गर्नका लागि सूचना प्रविधि, डिजिटल सेवा, पर्यटन र नवप्रवर्तनमा आधारित आर्थिक नीति अपनाउनुपर्नेमा उनको वकालत छ। यसका साथै, सार्वजनिक नियुक्तिहरूमा निष्पक्षता, खर्च र निर्णय प्रक्रियामा पूर्ण पारदर्शिता तथा भ्रष्टाचारविरुद्ध कडा कानुनी जवाफदेहिता कायम गर्नु आफ्नो प्रमुख एजेन्डा रहेको उनले स्पष्ट पारेका छन्।
त्यस्तै, भूगोल, वर्ग र समुदायका फरक–फरक प्राथमिकताहरूलाई समेट्दै महिला, दलित, मधेशी, जनजाति तथा कर्णालीका युवाहरूसहितको समावेशी र विविधतायुक्त नेतृत्व विकासमा ध्यान दिइने उनले बताएका छन्। गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि देशमा नयाँ राजनीतिक शक्तिहरूको उदय भइरहेको सन्दर्भमा नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक विरासतलाई वर्तमान पुस्ताको चाहना–अर्थात् सुशासन, आर्थिक आत्मनिर्भरता र परिणाममुखी कार्यशैलीसँग जोड्नैपर्ने उपाध्यायको ठहर छ। उपाध्याय नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिबाट स्थापित भएका युवा नेता हुन्।