कांग्रेस १५औँ महाधिवेशनः आज उम्मेदवारी दर्तादेखि दोस्रो नामावली प्रकाशनसम्मको कार्यसूची
काठमाडौँः काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ।
सोमबारदेखि बन्दसत्र सुरु भएको महाधिवेशनमा केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार आज दिनभर उम्मेदवारी दर्तादेखि नामावली प्रकाशनसम्मका कार्यक्रमहरू सञ्चालन हुनेछन्। केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म विभिन्न पदका लागि उम्मेदवारीको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ। ]
मनोनयन दर्ताको समय समाप्त भएपछि समितिले आजै दिउँसो ४ः३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गर्ने तयारी गरेको छ। पहिलो नामावली प्रकाशन भएसँगै उम्मेदवारविरुद्ध दाबी विरोधका लागि दिउँसो ४ः३० बजेदेखि ५ः३० बजेसम्मको समय दिइएको छ। दाबी विरोधका लागि प्राप्त दरखास्तहरूउपर निर्वाचन समितिले आजै साँझ ५ः३० बजेदेखि ६ः३० बजेसम्म जाँचबुझ गर्नेछ।
जाँचबुझ सम्पन्न भएपछि आजै बेलुका ७ः०० बजे उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन गरिने कार्यतालिका छ। आज दोस्रो नामावली प्रकाशन भएपछि कार्यतालिकाअनुसार भोलि असोज २१ गते उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा गरी असोज २२ गते बिहान ७ः३० बजेदेखि मतदान सुरु हुनेछ।