सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरद्वारा दुई सामुदायिक विद्यालयलाई डेस्क–बेन्च हस्तान्तरण

२०८३ असोज १९, ०२:५१ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधारका लागि ३८ सेट डेस्क–बेन्च हस्तान्तरण गरेको छ।

उपमहानगरपालिकाले धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा माध्यमिक विद्यालय र वडा नम्बर १८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयलाई ३८-३८डेस्क–बेन्च हस्तान्तरण गरेको हो।

बेहडाबाबा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नगर उपप्रमुख कन्दकला राणाले विद्यालयलाई डेस्क–बेन्च हस्तान्तरण गरेकी थिइन्। कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, नगर उपप्रमुख राणा, उपमहानगरपालिकाका कर्मचारी तथा वडा नम्बर १६ का अध्यक्ष रामलाल चौधरी र वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालको सहभागिता थियो।

कार्यक्रममा वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले वडाको तर्फबाट उपमहानगरपालिकालाई धन्यवाद दिँदै विद्यार्थीलाई पढाइमा लगनशील हुन उत्प्रेरित गरेका थिए।

नगर उपप्रमुख राणाले डेस्क–बेन्च हस्तान्तरणपछि विद्यार्थीको पठनपाठनमा सहजता आउने विश्वास व्यक्त गर्दै अध्ययनमा लगनशील हुन र गलत गतिविधिबाट टाढा रहन विद्यार्थीलाई आग्रह गरिन्।

त्यस्तै, वडा नम्बर १६ का अध्यक्ष रामलाल चौधरीले शिक्षा, स्वास्थ्य तथा कृषिको क्षेत्रमा उपमहानगरपालिकाले गरिरहेको सहयोगका लागि धन्यवाद व्यक्त गरे।

चन्द्रोदय माध्यमिक विद्यालयको नवनिर्मित आठकोठे भवनमा विद्यार्थीको पठनपाठन सहज बनाउन डेस्क–बेन्च उपलब्ध गराइएको हो। विद्यालयमा उपमहानगरपालिकाबाट शैक्षिक सामग्री तथा अन्य सहयोगसमेत हुँदै आएको विद्यालयका पुष्करराज शर्माले बताए।

शर्माका अनुसार उपमहानगरपालिकाले शिक्षामा गरेको लगानीले सामुदायिक विद्यालयप्रतिको दृष्टिकोणमा समेत परिवर्तन आएको छ। विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुनुका साथै कक्षा ८ को नतिजामा समेत सुधार आएको उनले बताए।

विद्यालयमा विभिन्न तालिम तथा छात्रवृत्तिका कार्यक्रम सञ्चालन भइरहेका छन्। पठनपाठनमा आवश्यक सामग्रीसमेत पटक–पटक उपलब्ध भइरहेकाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुँदै गएको शर्माको भनाइ छ।

कमेन्ट लोड गर्नुस