सुदूरपश्चिमबाट को–को छन् कांग्रेस पदाधिकारी बन्ने दौडमा ?
धनगढीः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउन थालिएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २० गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। मतदान भने असोज २२ गते हुनेछ।
विगतका दुई महाधिवेशनमा सुदूरपश्चिमले कांग्रेसको नेतृत्व पाएको थियो। १३औँ र १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका थिए। यसपटक भने सुदूरपश्चिमबाट महामन्त्री र सहमहामन्त्री पदमा नेताहरूले दाबी प्रस्तुत गरेका हुन्। महामन्त्रीमा नैनसिंह महर तथा सहमहामन्त्रीमा प्रकाश रसाइली, जनकराज गिरी, भरत खड्का र इश्वरी न्यौपानेले उम्मेदवारी दिने बताएका छन्।
महामन्त्रीका आकांक्षी नैनसिंह महरले कांग्रेसलाई समयसापेक्ष बनाउने एजेन्डा अघि सारेका छन्। नेपाल विद्यार्थी संघको अध्यक्षका रूपमा काम गरेका महरले करिब दुई दशक विद्यार्थी राजनीतिमा बिताएको उल्लेख गरेका छन्। देउवा सभापति रहँदा उनी पार्टीको केन्द्रीय सदस्यसंगै शिक्षा विभाग प्रमुखसमेत थिए। उनी ‘स्कुल अफ डेमोक्रेसी’का संस्थापकका रूपमा पनि चिनिन्छन्। महर नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका संस्थापक सभापति हुन्। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने उनी डडेल्धुराबाट पराजित भएका थिए।
प्रकाश रसाइली ‘स्नेही’ यसअघि नै कांग्रेसका सहमहामन्त्री हुन्। उनले १५औँ महाधिवेशनमा दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन्। १४औँ महाधिवेशनमा उनी दलित समावेशीतर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनी बझाङबाट उम्मेदवार बने पनि पराजित भएका थिए।
भरत खड्काले विशेष महाधिवेशनमै सहमहामन्त्री बन्ने इच्छा व्यक्त गरेका थिए। उनी प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति हुन्। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा डोटीबाट निर्वाचित खड्काले यसपटक सहमहामन्त्री पदमा दाबी गरेका हुन्।
यस्तै, बाजुराबाट प्रतिनिधिसभा सदस्य रहेका जनकराज गिरीले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने बताएका छन्। पार्टीको केन्द्रीय नेतृत्वमा पिछडिएको क्षेत्रको प्रतिनिधित्व बलियो बनाउने उद्देश्यसहित उम्मेदवारी दिन लागेको उनको भनाइ छ। उनले पुस्तान्तरण, रूपान्तरण र सुदूरपश्चिमको स्वाभिमानका लागि सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन्।
इश्वरी न्यौपानेले पनि सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन्। उनी कांग्रेसको प्रतिनिधिसभाको पूर्वसचेतक तथा राज्य व्यवस्था तथा सुशासन समितिकी पूर्वसभापति हुन्। न्यौपाने यसअघि पटकपटक केन्द्रीय सदस्य भइसकेकी छन्। न्यौपानेले कांग्रेसलाई लोकप्रिय पार्टी बनाउने, संगठनलाई थप मजबुत बनाउने र देशकै नम्बर एक पार्टीका रूपमा स्थापित गर्ने अभियानमा आफ्नो भूमिका रहने बताउँदै महाधिवेशन प्रतिनिधिलाई मतका लागि अपिल गरेकी छन्।