सुदूर नेपाललाई विश्वसँग जोड्दै

कंचनपुरको प्याराताल : पर्यटनको सम्भावना, बजेटको पर्खाइ

२०८३ असोज १७, ०४:०५ लक्ष्मण ढुङ्गाल

धनगढी :कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाटामा रहेको प्याराताल प्राकृतिक सौन्दर्यले भरिएको पर्यटकीय गन्तव्य हो ।

लाम्चो आकारमा फैलिएको ताल वरिपरिको हरियाली र प्राकृतिक वातावरणले जोकोहीको मन लोभ्याउने भए पनि पर्याप्त पूर्वाधार र व्यवस्थित व्यवस्थापनको अभावमा यसको पर्यटकीय सम्भावना भने अझै पूर्णरूपमा उजागर हुन सकेको छैन ।

पुनर्वास नगरपालिकाको दक्षिणी क्षेत्रमा पर्ने प्याराताल पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी पिकनिक तथा घुमफिरका लागि सिजनमा यहाँ उल्लेख्य संख्यामा मानिस पुग्ने गरेका छन् । कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहबाट मात्रै होइन, सीमावर्ती भारतीय क्षेत्रबाट समेत पर्यटक तथा आगन्तुक आउने गरेका छन् ।
तर, पर्यटकको चाप बढ्दै गए पनि तालमा आवश्यक पूर्वाधारको अभाव छ ।

तालसम्म पुग्ने बाटो, बस्ने ठाउँ, सरसफाइ, शौचालय, खानेपानी तथा अन्य पर्यटकीय सुविधाको पर्याप्त व्यवस्था नहुँदा पर्यटकले अपेक्षित सुविधा पाउन सकेका छैनन् । पर्यटकहरू प्यारातालको प्राकृतिक स्वरूपलाई जोगाउँदै यसलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने माग गर्छन् ।

प्राकृतिक रूपमा समेत महत्वपूर्ण मानिने प्यारातालमा विभिन्न प्रजातिका माछा समेत छन् । ताल कहिले नसुक्ने भएकाले आसपासका क्षेत्रमा विभिन्न वन्यजन्तुको समेत आवतजावत हुने गरेको बताइन्छ । सीमावर्ती भारतीय क्षेत्रमा रहेको राष्ट्रिय निकुञ्जबाट पानी पिउनका लागि विभिन्न प्रजातिका जनावर ताल क्षेत्रमा आउने गरेको स्थानीय बताउँछन् । यसले प्याराताललाई मनोरञ्जनसँगै जैविक विविधताका दृष्टिले समेत महत्वपूर्ण क्षेत्र बनाएको छ ।
प्राकृतिक सौन्दर्य छ, पूर्वाधारको खाँचो


ताल वरिपरिको हरियाली र शान्त वातावरण प्यारातालको मुख्य आकर्षण हो । 
करिब पाँच किलोमिटर क्षेत्रमा फैलिएको  तालमा पर्यटकका लागि नगरपालिकाले डुंगाको व्यवस्था गरिसकेको जनाएको छ ।
तर, सामान्य पूर्वाधारकै अभावका कारण प्राकृतिक रूपमा आकर्षक रहेको यो क्षेत्र व्यवस्थित पर्यटकीय गन्तव्य बन्न सकेको छैन । तालको संरक्षणसँगै पर्यटकलाई आवश्यक सुविधा उपलब्ध गराउन सके प्याराताललाई पुनर्वासको मात्र नभई कञ्चनपुरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ ।
प्यारातालको विकासका लागि पुनर्वास नगरपालिकाले विस्तृत परियोजना तयार गरी काम अघि बढाइरहेको नगरप्रमुख तोयप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार स्थानीय तहको स्रोत र क्षमताले मात्रै तालको समग्र विकास सम्भव छैन । संघ र प्रदेश सरकारले समेत पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।


 तीन तहका सरकारको सहकार्य आवश्यक 
कञ्चनपुर र कैलाली धार्मिक तथा प्राकृतिक पर्यटकीय सम्भावना बोकेका जिल्ला हुन् । यहाँका विभिन्न मठमन्दिर, धार्मिक स्थल, तालतलैया तथा पार्कमा आन्तरिकसँगै भारतीय पर्यटकसमेत आउने गरेका छन् । यही पर्यटकीय सञ्जालसँग प्याराताललाई जोड्न सके सीमावर्ती पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने स्थानीयको अनुमान छ ।

पर्यटकहरू भने तालको प्राकृतिक स्वरूप नबिगारी आवश्यक पूर्वाधार निर्माण,निरन्तर सरसफाइ गर्नुपर्ने बताउँछन् । ताल वरिपरि पदमार्ग, विश्रामस्थल, शौचालय, खानेपानी, सुरक्षा तथा व्यवस्थित पिकनिक क्षेत्र निर्माण गर्न सके पर्यटकको बसाइ लम्ब्याउन सकिने उनीहरूको भनाइ छ ।

प्याराताल नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने भएकाले यसको संरक्षण, उपयोग र विकासका विषयमा थप समन्वय आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । प्राकृतिक स्रोत तथा जैविक विविधताको संरक्षणलाई प्राथमिकतामा राख्दै पर्यटन पूर्वाधार विकास गर्नुपर्ने उनीहरूको जोड छ ।

 

 सिजन सुरु हुँदै गर्दा बढ्यो चासो

हिउँद तथा पिकनिकको सिजन सुरु हुन लागेसँगै प्यारातालमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बिदाको दिन तथा पिकनिक सिजनमा यहाँ ठूलो संख्यामा मानिस पुग्ने गरेका छन् ।

तर, पर्यटकको संख्या बढ्ने र त्यसअनुसार पूर्वाधार विस्तार नहुने अवस्था दोहोरिँदै गए तालको प्राकृतिक सौन्दर्यमा समेत असर पर्न सक्ने स्थानीयको चिन्ता छ । त्यसैले तालको संरक्षणसँगै दीर्घकालीन गुरुयोजनाका आधारमा विकास गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता र सीमावर्ती क्षेत्रको विशेष भौगोलिक अवस्थाले प्याराताललाई पर्यटनको राम्रो सम्भावना बोकेको गन्तव्य बनाएको छ । अब त्यसलाई व्यवस्थित र आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्न स्थानीय तहको प्रयाससँगै प्रदेश र संघ सरकारको लगानी तथा समन्वय आवश्यक देखिन्छ ।
प्राकृतिक रूपमा आफैंमा भरिपूर्ण र आकर्षक प्यारातालले अब सरकारको ध्यान र लगानी कुरिरहेको छ ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस