सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा असाेज २४ देखि शनिबारीय महिला उद्यम बजार पुनः सञ्चालन हुने

२०८३ असोज १६, ०५:२० लक्ष्मण ढुङ्गाल

धनगढी: धनगढी उपमहानगरपालिकाले शनिबारीय महिला उद्यम बजारलाई पुनः सञ्चालनमा ल्याउने भएको छ । वर्षायामका कारण केही समय रोकिएको उद्यम बजार यही असोज २४ गतेदेखि पुनः सञ्चालन गर्न लागिएको हो। 

धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षदेखि जेन्जीमार्गमा उद्यम बजार सञ्चालन गर्दै आएको छ । बर्षायामलाई मध्यनजर गर्दै केही समय स्थगित गरिएको बजारलाई पुनः निरन्तरता दिन लागिएको उपमहानगरपालिकाले जनाएको छ ।

पुनः सञ्चालन हुने उद्यम बजारका लागि आवेदन खुला गरिएको उपमहानगरपालिकाकी उप- नगरप्रमुख कन्दकला कुमारी रानाले बताइन् । उनका अनुसार बजारमा बेरोजगार तथा सीप भएका महिलालाई प्राथमिकता दिइनेछ । महिलाले आफूले उत्पादन गरेका हस्तकला सामग्री तथा मौलिक खानाका परिकार बिक्री गरेर आम्दानी गर्न सक्नेछन् ।

२०८१ सालदेखि सुरु गरिएको महिला उद्यम बजारले महिलालाई स्वरोजगार बनाउनुका साथै स्थानीय सीप, कला, संस्कृति र मौलिक खानपानको संरक्षण तथा प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने उपमहानगरपालिकाको विश्वास छ ।

‘शनिबार एक दिन भए पनि दिदीबहिनीहरूको श्रमको सम्मान, आर्थिक सशक्तीकरणको अभियान’ भन्ने नारासहित सञ्चालन हुँदै आएको उद्यम बजारलाई महिलाको आर्थिक सशक्तीकरणसँग जोडिएको छ । महिलालाई आर्थिक रूपमा सक्षम बनाउँदै परिवारको आयआर्जनमा योगदान पुर्‍याउने र घरेलु हिंसा न्यूनीकरणमा समेत सहयोग गर्ने उद्देश्य रहेको उप-नगरप्रमुख रानाले बताइन् ।

उद्यम बजारमा दुईतर्फ विभिन्न प्रकारका स्टल राखिनेछन् । एकतर्फ महिलाले उत्पादन गरेका हस्तकलाका सामग्रीहरू बिक्रीका लागि राखिनेछन् । दुना–टपरी, ढकिया, आरनका सामग्री, चुरा, पोतेलगायत स्थानीय सीप र कलामा आधारित सामग्रीका स्टल रहनेछन् ।

त्यस्तै, अर्को तर्फ सुदूरपश्चिमका मौलिक तथा परम्परागत खानाका परिकारका स्टल रहनेछन् । निसौसे, माणा, सेलरोटी, ढिक्री, कर्ता, बटुकलगायत स्थानीय तथा अर्गानिक परिकारको स्वाद लिन सकिने उप-नगरप्रमुख रानाले बताइन् ।

उद्यम बजारलाई महिला उद्यमीको उत्पादन बिक्री गर्ने स्थानमा मात्र सीमित नराखी सबै उमेर समूहका लागि मनोरञ्जन र घुमघामको गन्तव्यका रूपमा विकास गर्ने तयारी गरिएको छ । बालबालिकाका लागि खेल्ने सामग्री तथा ज्येष्ठ नागरिकका लागि भजन–कीर्तन र मनोरञ्जनात्मक गतिविधि समेत सञ्चालन गरिनेछ ।

धनगढीका महिलाले आफूमा भएको सीपलाई व्यवसायमा रूपान्तरण गर्दै स्वरोजगार बन्न सक्ने भएकाले उद्यम बजारमा सहभागी हुन इच्छुक महिलालाई आवेदन दिन उपमहानगरपालिकाले आग्रह गरेको छ ।

यसरी हेर्दा शनिबारीय महिला उद्यम बजार महिलाले उत्पादन गर्ने सामग्रीको बिक्रीस्थल मात्र नभई स्थानीय सीप, संस्कृति र मौलिक खानपानलाई बजारसँग जोड्ने तथा महिलाको श्रमलाई आम्दानीमा रूपान्तरण गर्ने साझा थलोका रूपमा विकास गर्ने लक्ष्य उपमहानगरपालिकाले लिएको छ ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस