धनगढी– उरैभन्ज्याङ्ग सडक योजना: पाँच पुल निर्माणका लागि ठेक्का आह्वान
धनगढीः कैलालीको धनगढीबाट डोटीको दीपायल हुँदै बझाङको उरै भन्ज्याङ जोड्ने सडक योजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि ठेक्का आह्वान भएको छ।
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक योजना कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको हो।
आयोजना कार्यालयका प्रमुख शशांक मिश्रका अनुसार जारीमघाट खोला, गुनाडी खोला, सानीगाड खोला, हानीगाड खोला र सायलीगाड खोलामा पक्की पुल निर्माणका लागि ठेक्का आह्वान भएको हो। मिश्रका अनुसार थप दुई पुलको भने अध्ययन गर्न नै बाँकी छ।
पाँच पुल निर्माणका लागि भने इच्छुक कम्पनीहरूले कात्तिक ११ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। सोही दिन दिउँसो २ बजे बोलपत्र खोलिने जनाइएको छ।