भारी वर्षाको जोखिमपछि डोटीमा २४ घण्टा सवारी आवागमन बन्द
डोटी: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको मौसमी जोखिमसम्बन्धी पूर्वसूचनाका आधारमा डोटीमा २४ घण्टाका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय, डोटीले सूचना जारी गर्दै असोज १० गते बिहान ७ बजेदेखि असोज ११ गते बिहान ७ बजेसम्म जिल्लाभर सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो।
डोटी र आसपासका जिल्लालाई सतर्कता अपनाउनुपर्ने अवस्थामा राखिएकाले जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टको निर्देशनअनुसार सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
रोकको अवधिमा जिल्लाका मुख्य, स्थानीय तथा ग्रामीण सडकमा सञ्चालन हुने लामो र छोटो दूरीका सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने छैन।
प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई यात्रा स्थगित गरी घरमै सुरक्षित रहन आग्रह गरेको छ। आकस्मिक तथा अत्यावश्यक अवस्था परेमा जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
अत्यावश्यक सम्पर्क नम्बर:
प्रमुख जिल्ला अधिकारी, डोटी : ९८५८४३७७७७
सूचना अधिकारी, जिल्ला प्रशासन कार्यालय : ९८६४३२३७३७
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र : १२३४
प्रहरी उपरीक्षक, डोटी : ९८५८४३५५५५
प्रहरी : १००
सशस्त्र प्रहरी : १११४