बाढीको जोखिममा बैदीका बस्तीमा माइकिङ, ‘विपद् आउनुअघि नै खबरदारी’
धनगढी : सम्भावित भारी वर्षा र बाढीको जोखिमलाई मध्यनजर गर्दै कैलालीको टीकापुर नगरपालिका–७ बैदीमा स्थानीयवासीलाई पूर्वसूचना दिँदै सचेतना अभियान सञ्चालन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले असोज ९ गतेदेखि ११ गतेसम्म भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि विपद् व्यवस्थापन समिति बैदीको समुदायमा आधारित विपद् व्यवस्थापन समितिअन्तर्गतको पूर्वसूचना उपसमितिले विभिन्न बस्तीमा माइकिङ गरेको हो ।
समितिले ढुंगानाटोल, माझगाउँ, हुलाकीटोल, खयरझाला, डाँडाटोल र कुन्तीपुरलगायतका बस्तीमा पुगेर सम्भावित विपद्बारे जानकारी गराउँदै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरे ।
भारी वर्षाका कारण बाढी, डुबान, पहिरो तथा गेग्रान बहावको जोखिम हुनसक्ने भएकाले नदी तथा खोला किनार र अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरे ।
जोखिमको समयमा अत्यावश्यकबाहेक यात्रा नगर्न, घरपरिवारका सदस्य तथा महत्वपूर्ण सामग्री सुरक्षित स्थानमा राख्न र आपत्कालीन अवस्थाका लागि आवश्यक तयारी गर्नसमेत अनुरोध गरे ।
समुदायमा आधारित विपद् व्यवस्थापन समिति बैदीका अध्यक्ष नरेन्द्रप्रसाद रेग्मीले विपद् व्यवस्थापनमा पूर्वसूचनालाई प्राथमिकतामा राखिएको बताए ।
“विपद् आएपछि उद्धार गर्नुभन्दा विपद् आउनुअघि नै समुदायलाई सचेत गराउनु महत्वपूर्ण हुन्छ,” उनले भने, “मौसम पूर्वानुमानलाई आधार बनाएर हामी बस्ती–बस्तीमा पुगेर सूचना दिइरहेका छौँ। सबै नागरिकले प्राप्त सूचनालाई गम्भीर रूपमा लिएर आवश्यक पूर्वतयारी गर्नुपर्छ ।”
समितिका सचिव भोजराज ढुङ्गानाले जोखिमयुक्त क्षेत्रका नागरिकसम्म समयमै सूचना पु¥याउने उद्देश्यले माइकिङ गरिएको बताए । विपद्का बेला सूचना आदानप्रदान र समन्वयलाई प्रभावकारी बनाउन स्थानीय समुदायको सहभागिता थप बलियो बनाइने उनले बताए ।
पूर्वसूचना उपसमितिकी संयोजक शुशिला बस्नेतले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका परिवारलाई विशेष ध्यान दिन आग्रह गरिन् ।
“सम्भावित जोखिमलाई सामान्य रूपमा नलिऔँ। नदी तथा खोला र डुबान हुनसक्ने क्षेत्रबाट टाढा रहौँ,” उनले भनिन्, “आपत्कालीन अवस्थामा आवश्यक पर्ने सामग्री तयारी अवस्थामा राखौँ र समयमै सुरक्षित स्थानतर्फ जान तयार रहौँ” ।
माइकिङ अभियानमा समितिका अध्यक्ष नरेन्द्रप्रसाद रेग्मी, सचिव भोजराज ढुङ्गाना, कोषाध्यक्ष बासुदेव कोइराला तथा पूर्वसूचना उपसमितिकी संयोजक शुशिला बस्नेतलगायत सहभागी थिए ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्का बेला सहयोगका लागि १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न सकिने जनाए ।
स्थानीयवासीलाई मौसमसम्बन्धी पूर्वानुमान तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी निकायबाट जारी हुने अद्यावधिक सूचना र चेतावनीलाई नियमित रूपमा पालना गर्न आग्रह गरे ।