सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्यधिक वर्षाको पूर्वानुमानपछि धनगढीका जोखिमयुक्त क्षेत्रमा नगर प्रहरीको माइकिङ

२०८३ असोज ७, १०:०९ लक्ष्मण ढुङ्गाल

धनगढी :यहि असोज ९ गतेदेखि १२ गतेसम्म अत्यधिक वर्षा हुने पूर्वानुमानपछि धनगढी उपमहानगरपालिकाले बाढी तथा डुबानबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।

अत्यधिक वर्षाका कारण बाढी, डुबान तथा अन्य विपद्का घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले जोखिमयुक्त क्षेत्रहरूमा माइकिङमार्फत स्थानीयवासीलाई सचेत गराउन थालेका हुन ्।

नगर प्रहरी टोलीले धनगढी उपमहानगरपालिकाका वडा नम्बर १४, १५, १६, १७, १८ र १९ का विभिन्न स्थानमा पुगेर सम्भावित बाढी तथा डुबानबाट जोगिन पूर्वतयारी गर्न, सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन स्थानीयवासीलाई अनुरोध गरेको छ ।

वर्षाका कारण नदी, खोला तथा नालामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सावधानी अपनाउन र अत्यावश्यक सामग्री तथा कागजात सुरक्षित राख्न नगर प्रहरीले आग्रह गरेको छ ।

त्यस्तै, घर वरपरका नाला तथा पानी निकासका संरचना सफा राख्न, विद्युत् तथा अन्य जोखिमयुक्त संरचनाबाट टाढा रहन र बाढी तथा डुबानको अवस्था देखिएमा स्थानीय तह तथा सुरक्षा निकायलाई तत्काल जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।

सम्भावित विपद्बाट हुने क्षति कम गर्न पूर्वतयारी नै महत्वपूर्ण हुने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमको अवस्थाबारे नियमित जानकारी लिन र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ ।
 

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस