दुर्गादत्त विष्टको नेतृत्वमा शिक्षा विकास निर्देशनालय डाेटी कार्यसम्पादनमा देशभर प्रथम
धनगढी: नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको कार्यसम्पादन परीक्षणमा शिक्षा विकास निर्देशनालय, दिपायल डोटी देशभरका सातवटै प्रदेशका शिक्षा विकास निर्देशनालयमध्ये पहिलो भएको छ।
ईआरओले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सूचक (इन्डिकेटर) का आधारमा गरेको कार्यसम्पादन परीक्षणमा सुदूरपश्चिमको शिक्षा विकास निर्देशनालयले ८३.३७ अंक प्राप्त गर्दै सर्वाधिक अंक हासिल गरेको हो। प्रतिवेदनअनुसार सुदूरपश्चिमको कार्यसम्पादन स्तर ‘धेरै राम्रो’ रहेको छ।
निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले संघीय सरकारले निर्देशनालयलाई उपलब्ध गराएको कार्य विवरणअनुसार कामकाे प्रभावकारिता, गुणस्तर, समयपालना, मितव्ययिता तथा सेवाग्राहीलाई प्रदान गरिएको सेवाको अवस्थालाई आधार बनाएर स्वतन्त्र रूपमा मूल्याङ्कन गरिएको बताए।
‘हामीलाई दिइएको जिम्मेवारी पूरा गर्न कार्ययोजना बनाएर अघि बढ्ने, बजेटमा मितव्ययिता अपनाउने र तोकिएको समयमै कार्यसम्पादन गर्ने हाम्रो प्राथमिकता हो,’ विष्टले भने, ‘यो मूल्याङ्कनले हामीले गरिरहेको कामलाई अझ प्रभावकारी बनाउन थप हौसला दिएको छ। आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्ने गरी अघि बढ्नेछौँ।’
उनका अनुसार कार्यसम्पादन परीक्षणले कार्यालयको वास्तविक कार्यशैली र सेवाप्रवाहलाई थप व्यवस्थित बनाउनसमेत सहयोग पुग्नेछ। ‘मूल्याङ्कनलाई केवल अंकका रूपमा होइन, आफूले गरेको कामलाई थप सुधार गर्ने अवसरका रूपमा पनि लिएका छाैँ,’ विष्टले भने।
विगतमा पनि उत्कृष्ट कार्यसम्पादनको इतिहास
निर्देशनालयको यो उपलब्धिमा महानिर्देशक विष्टकाे नेतृत्वलाई समेत महत्वपूर्ण रूपमा हेरिएको छ। उनि कार्यसम्पादनमा उत्कृष्ट नतिजा हासिल गर्ने कार्यालयको नेतृत्वमा यसअघि पनि रहिसकेका छन्। उनी जिल्ला शिक्षा कार्यालय दार्चुलाको प्रमुख रहँदा २०६८, २०६९ र २०७० सालमा उक्त कार्यालय कार्यसम्पादनमा प्रथम भएको थियो।
त्यसैगरी डडेल्धुरा जिल्ला शिक्षा कार्यालयको प्रमुख रहँदा २०७१ र २०७२ सालमा पनि उक्त कार्यालय कार्यसम्पादनमा प्रथम भएको थियो। त्यसबेला क्षेत्रीय शिक्षा निर्देशनालयले कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने गरेको थियो। उत्कृष्ट कार्यसम्पादन गरेबापत विष्टलाई ५० हजार रुपैयाँ नगदसहित उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत समेत गरिएको थियो।
यसपटक पनि विष्टको नेतृत्वमा रहेको प्रदेश शिक्षा विकास निर्देशनालयले कार्यसम्पादनमा देशभरका निर्देशनालयमध्ये उच्चतम अंक हासिल गर्न सफल भएकाे छ।
अन्य प्रदेशको अवस्था कस्तो छ?
ईआरओको ‘शिक्षा विकास निर्देशनालयको कार्यसम्पादन परीक्षणको एकीकृत प्रतिवेदन २०८१/८२’ अनुसार कोशी प्रदेशले ४९.७१, मधेशले ३९.५१, बागमतीले ८०.८७, गण्डकीले ६६.००, लुम्बिनीले ५७.९१, कर्णालीले ७१.०३ र सुदूरपश्चिमले ८३.३७ अंक प्राप्त गरेका छन्।
प्रतिवेदनअनुसार सात प्रदेशमध्ये सुदूरपश्चिम र बागमतीको कार्यसम्पादन स्तर ‘धेरै राम्रो’, गण्डकी र कर्णालीको ‘राम्रो’, कोशी र लुम्बिनीको ‘सामान्य वा सन्तोषजनक’ तथा मधेशको ‘कमजोर’ रहेको छ।
निर्देशक बिष्टले कार्यालयकाे यो उपलब्धि नेतृत्व र कर्मचारीको सामूहिक प्रयासको परिणाम रहेकाे बताए। प्राप्त उपलब्धिले जिम्मेवारीप्रति थप उत्तरदायी हुँदै आगामी दिनमा शिक्षा क्षेत्रमा अझ प्रभावकारी, गुणस्तरीय र सेवामुखी कार्यसम्पादन गर्ने उत्साह थपेको र त्यही अनुसार काम गर्ने उनले प्रतिबद्धता समेत जनाए।