सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा असोज ८ देखि जेईविरुद्धको खोप अभियान

२०८३ असोज ६, ०२:४७ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकामा यही असोज ८ गतेदेखि जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ।

जेई संक्रमणको जोखिम बढेपछि उपमहानगरपालिकाका १९ वटै वडामा असोज ८ देखि २२ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको हो। अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका नागरिकलाई जेईविरुद्धको खोप लगाइनेछ।

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख योगेश अवस्थीका अनुसार लक्षित उमेर समूहका १ लाख ३ हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ।

उनका अनुसार धनगढीमा हालसम्म जेई संक्रमण भएका ३ जना संक्रमित फेला परिसकेका छन्। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्न लागिएको अवस्थीले बताए।

अभियान सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा १२४ वटा खोप केन्द्र स्थापना गरिएको छ। स्वास्थ्य शाखाका अनुसार खोप अभियानका लागि आवश्यक तयारीसमेत पूरा भइसकेको छ।

अभियानलाई प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्न मंगलबार भलमन्सा तथा सरोकारवाला निकायसँग छलफलसमेत गरिएको छ। छलफलमा खोप अभियानबारे समुदायस्तरमा जानकारी प्रवाह गर्ने तथा लक्षित समूहका नागरिकलाई खोप केन्द्रसम्म ल्याउने विषयमा समन्वय गरिएको जनाइएको छ।

उपमहानगरपालिकाका अनुसार खोप स्वास्थ्य कार्यालय कैलालीमा आइसकेको छ। स्वास्थ्य कार्यालयबाट सम्बन्धित खोप केन्द्रमा खोप पठाउने तयारी भइरहेको छ।

उपमहानगरपालिकाले लक्षित उमेर समूहका सबै नागरिकलाई अभियानमा सहभागी भई जेईविरुद्धको खोप लगाउन आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस