सुदूरपश्चिमका निर्माण व्यवसायीलाई अब कानुनी तथा प्राविधिक परामर्श
धनगढी : सुदूरपश्चिम प्रदेशका निर्माण व्यवसायीले भोग्दै आएका कानुनी, प्राविधिक तथा प्रशासनिक समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालनमा ल्याएको छ।
नेपाल निर्माण व्यवसायी महासंघको नीतिअनुसार स्थापना गरिएको उक्त शाखामा व्यवसायीलाई कानुनी परामर्शका लागि अधिवक्ता सिद्धराज ओझा तथा प्राविधिक विषयमा परामर्शका लागि इन्जिनियर होमबहादुर तामाङ कार्यरत रहनेछन्।
शाखाको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेठीले गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष सेठीले राष्ट्रिय अर्थतन्त्र र पूर्वाधार विकासमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताए। पछिल्लो समय निर्माण व्यवसायीले विभिन्न कानुनी झन्झट, नीतिगत अस्पष्टता, ठेक्का सम्झौतासम्बन्धी
समस्या तथा प्राविधिक जटिलता सामना गर्नुपरिरहेको उल्लेख गर्दै उनले नयाँ शाखाले यस्ता समस्याको समाधानमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनका अनुसार शाखाले व्यवसायीलाई कानुनी विवाद, ठेक्का सम्झौतासँग सम्बन्धित प्राविधिक समस्या तथा प्रशासनिक प्रक्रियामा देखिने जटिलताका विषयमा आवश्यक परामर्श र मार्गदर्शन प्रदान गर्नेछ ।
उपाध्यक्ष सेठीले व्यवसायीको हितमा सुरु गरिएको नयाँ सेवाको पूर्ण सदुपयोग गर्न प्रदेशभरिका निर्माण व्यवसायीलाई आग्रह गरे ।
शाखा सञ्चालनमा आएसँगै निर्माण व्यवसायीले आफ्नो व्यवसायसँग सम्बन्धित कानुनी तथा प्राविधिक समस्या पहिचानदेखि समाधानका लागि आवश्यक परामर्शसम्म प्रत्यक्ष सहयोग पाउने अपेक्षा गरिएको छ ।
कार्यक्रम सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार कपाडीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा महासंघका केन्द्रीय सदस्य लक्ष्मण साउदसहित प्रदेश तथा जिल्लाका पदाधिकारी एवं
सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन महासंघका महासचिव खेमराज जोशीले गरेका थिए भने मानार्थ सदस्य टेण्डी शेर्पाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।