सुदूरपश्चिममा आज नेकपा संसदीय दलको बैठक, असोज १५ भित्रै बजेट ल्याउने तयारी
सुदूरपश्चिम : प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज संसदीय दलको बैठक आह्वान गरेको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता खगराज भट्टले दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका हुन्।
आफ्नै दलभित्र असन्तुष्टि र विवाद देखिएका बेला मुख्यमन्त्री भट्टले बजेट निर्माण तथा सरकार सञ्चालनका विषयमा छलफल गर्न दलको बैठक बोलाएका हुन्।
अघिल्लो सरकारले ल्याएको बजेट पारित नभएपछि सुदूरपश्चिम प्रदेश सरकार साउनदेखि बजेटविहीन अवस्थामा छ। मुख्यमन्त्री भट्टले असोज १५ गतेभित्रै चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेका छन्। सोही तयारीका बीच नेकपा संसदीय दलको बैठक बस्न लागेको हो।
मुख्यमन्त्री भट्टले यसअघि भदौ मसान्तभित्र बजेट ल्याउने बताएका थिए। तर राजनीतिक विषय मिलाउन समय लागेकाले बजेट ल्याउन ढिलाइ भएको उनको भनाइ छ। अब भने असोज दोस्रो साताभित्रै बजेट ल्याउने तयारी भइरहेको उनले बताएका छन्।
‘त्योभन्दा ढिलो गर्ने अवस्था छैन,’ मुख्यमन्त्री भट्टले भनेका छन्।
उनका अनुसार आर्थिक मामिला मन्त्रालयले बजेट निर्माणका लागि मार्गदर्शन सम्बन्धित मन्त्रालयहरूलाई पठाइसकेको छ। सांसदहरूसँग योजना सिफारिस माग्ने तयारी भएको छ भने ९ गतेसम्म मन्त्रालयबाट पनि योजना माग्ने सरकारले तयारी गरेको छ।
‘आगामी तीन–चार दिनमा बजेट निर्माणको अधिकांश काम पूरा गर्ने सरकारको लक्ष्य छ। असोज १५ भित्रै बजेट ल्याउने तयारी गरिरहेका छौँ,’ मुख्यमन्त्री भट्टले भने।
बजेट निर्माणसँगै सांसदहरूले योजना सिफारिस गर्न पाउने बजेटको सीमा, मन्त्रालयमा सचिव पठाउनेलगायतका विषय पनि टुंगिन बाँकी छन्। अघिल्लो सरकारले सांसदहरूलाई योजना सिफारिसका लागि उपलब्ध गराएको रकमलाई
निरन्तरता दिने वा घटाउने भन्ने विषयमा समेत छलफल हुन बाँकी छ।
यसबीच नेकपाभित्र भने संसदीय दलको नेताको विषयलाई लिएर असन्तुष्टि देखिएको छ। केही सांसदहरूले मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर अभियानसमेत सञ्चालन गरेका थिए। नौ जना सांसदले हस्ताक्षर गरे पनि
दलको नेता हटाउन आवश्यक ११ जना सांसदको समर्थन नजुटेपछि उक्त अभियान रोकिएको थियो।
हस्ताक्षर अभियान रोकिएपछि नौ जना सांसदको हस्ताक्षरसहित १७ बुँदे सचेतपत्र सार्वजनिक गरिएको थियो। सांसदहरूले दस्तावेजलाई ‘राजनीतिक डकुमेन्ट’ का रूपमा व्याख्या गर्दै आएका छन्।
तीव्र असन्तुष्टिका बीच बस्न लागेको संसदीय दलको बैठकलाई महत्त्वका साथ हेरिएको छ।