सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्ण मन्दिर–बाँन्द्रेखाल सडकको ठेक्का सम्झौता अन्त्य

२०८३ असोज १, ०७:३२ लक्ष्मण ढुङ्गाल

धनगढी: कैलालीको गोदावरी नगरपालिका–३ स्थित कृष्ण मन्दिरदेखि गोदावरी नगरपालिका–१२ बाँन्द्रेखालसम्म सडक स्तरोन्नतिको जिम्मा पाएको निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय कैलालीले निर्माण व्यवसायीसँगको सम्झौता अन्त्य गरेको हो।

३ दशमलव १ किलोमिटर लामो सडक डीबीएसडी कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको थियो। सडक निर्माणको जिम्मा तेडि निर्माण सेवा प्रालि., कैलालीले पाएको थियो।

कार्यालयका अनुसार निर्माण व्यवसायीले तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगरेपछि पटक–पटक ताकेता गरिएको थियो। स्थानीय जनप्रतिनिधिको उपस्थितिमा बैठक राखेर निर्माणका लागि माइलस्टोन तोकी काम अघि बढाउन ताकेतासमेत गरिएको थियो।

तर निर्माण व्यवसायीले तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेको र निर्माण कार्यमा ढिलाइ भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको कार्यालयले जनाएको छ।

योजनाको लागत अनुमान ८ करोड ९९ लाख ९७ हजार ९ सय ६६ रुपैयाँ रहेकोमा निर्माण कम्पनीसँग ६ करोड ६१ लाख ४१ हजार २०६ रुपैयाँमा सम्झौता भएको थियो। सम्झौता मितिअनुसार निर्माण सम्पन्न गर्ने समयसीमा सकिएपछि एकपटक १० प्रतिशत म्याद थप गरिएको थियो। थप गरिएको म्यादअनुसार नयाँ मिति २०८२ पुस ३० गतेसम्म कायम गरिएको थियो।

हालसम्म सडकको भौतिक प्रगति ५७ प्रतिशत, अर्थात् करिब १ हजार ८ सय मिटर बेस निर्माण सम्पन्न भएको उल्लेख छ। योजनाको वित्तीय प्रगति ५५ प्रतिशत रहेको छ।

कार्यालयले निर्माण व्यवसायीलाई निर्माण कार्य समयमै सम्पन्न गर्न पटक–पटक मौखिक तथा लिखित ताकेता गरे पनि अपेक्षित प्रगति नभएपछि ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो।

यससँगै बाँकी सडक निर्माण कार्यलाई कसरी अघि बढाउने भन्ने विषयमा सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाउने भएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस