भ्रमण वर्ष सफल बनाउन एनआरएन परिचालन गर्न सुझाव
नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन गैरआवासीय नेपालीहरुलाई परिचालन गर्न सांसदहरुले सुझाव दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आइतबार गरेको छलफलमा संसदीय मैत्री समूहका संयोजक सांसदहरुले सो सुझाव दिएका हुन्।
छलफलमा सांसदहरुले विदेशस्थित नेपाली नियोग र गैरआवासीय नेपाली संघ परिचालन गरी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनको वातावरण बनाउन सुझाव दिए। सांसदहरुले पर्यटकीय पूर्वाधार निर्माण, प्रमुख पर्यटन बजारमा प्रचार प्रसारमा समेत ध्यान दिन मन्त्रालय तथा भ्रमण वर्ष सचिवालयको ध्यानाकर्षण गराएका थिए।
विदेश रहेका नेपालीको बानी व्यवहार, उनीहरुले गर्ने प्रवर्द्धन नै नेपालमा पर्यटक ल्याउने सन्दर्भमा प्रभावकारी हुने सांसदहरुको सुझाव थियो। भ्रमण वर्ष सफल बनाउन आफ्नो तर्फबाट पूर्णसहयोग रहने प्रतिवद्धता उनीहरुले गरेका छन्।