सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ८३ ताल अतिक्रमणको चपेटामा, उपमहानगर डोजर लगाउँदै

२०८१ वैशाख २२, ०४:३६ कमल सावद

धनगढीः धनगढी उपमहानगरपालिकाले अतिक्रणमा परेका सबै ताल तथा पोखरीका संरचना भत्काउन सुरु गरेको छ।

धनगढी उपमहानगरपालिका–७ सडुवाबाबा र अन्टा तालबाट अतिक्रमण हटाउने काम सुरु गरेको छ। उपमहानगरपालिकाले सडुवाबाबा तालमा निर्माण गरिएका ५६ पिल्लरसहितको भवन सुरुमै भत्काइएको थियो। शुक्रवार बाँकी क्षेत्रका पक्की तथा कच्ची घरसहितका संरचना खाली गरिएको छ। कित्ता नम्बर ४ को नौ दशमलव ५ धुर क्षेत्रफलमा रहेको पोखरीका भौतिक संरचनाहरु खाली गरिएको छ।

धनगढी उपमहानगरले नगर क्षेत्रका ताल तथा पोखरीको तथ्याङ्क सङ्कलन गरेर अतिक्रमण खाली गर्न अभियान थालेको छ। क्रमिक रुपमा ताल तथा पोखरीको अतिक्रमण खाली गर्ने धनगढीका नगर प्रमुख गोपाल हमालले बताए। उनले भने, ‘त्रिभूवन विश्वविद्यालयको पुर्नरभरन अध्ययनका लागि समूह आएको थियो। उहाँहरुले प्रतिवेदन बुझाउनुभएको छ। तालहरुको अतिक्रमण क्रमिक रुपमा खाली गर्दै जाने छौ।’

धनगढीका सामुदायिक वनभित्रका प्राकृतिक ताल संरक्षित छन। बजार क्षेत्रका अधिकांश ताल अतिक्रमणमा परेका छन्। अतिक्रमणमा परेका तालहरुको संरक्षण र दीर्घकालीन प्रयोगका लागि धनगढी उपमहानगरपालिकाले संरचना भत्काउन थालेको छ। नगर प्रमुख हमालले भने, ‘धनगढीका ८३ वटा तालको अध्ययन भएको छ। हामीले अंकित गरेका छौ। ताल ओगटेकाहरुले समयमा नै खाली गर्नुहोस। तालको जग्गा तपाइहरुको नाममा दर्ता हुँदैन।

एक सय वर्ष बसेपनि खाली गर्नुपर्छ। क्रमिक रुपमा हामी सबै खाली गर्छाै।’ धनगढी–७ मा मात्र सडुवाबाबा तालसहित, अन्टा ताल, मनिया ताल, लम्बा ताल, पोखरी, जाखौर ताल, सिरेगडैया ताल, चन्द्रमुखी ताल, दक्षिण गडैया ताल मुरफुत्ता तालसहित १० वटा ताल अतिक्रणमा परेको उपमहानगरपालिकाको तथ्याङ्क छ। वडा नम्बर ७ का सामुदायिक वन भित्रका बाहेक अन्य तालहरू अतिक्रमणको चपेटामा परेका छन्।

ताल तथा पोखरीको अतिक्रमण खाली गर्ने र तालहरूको संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइने उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरभित्रका १९ वडा मध्ये वडा नम्बर ४ बाहेक अन्य वडाहरूमा कम्तीमा एक र बढीमा १२ तालसम्म रहेको विवरण तयार पारेर अतिक्रमण खाली गर्न थालिएको छ। वडा नम्बर १ को शिवनगरमा पाँच बिघा ७ कट्ठामा फैलिएको झागडा ताल छ। सो ताल पूरै अतिक्रमण गरिएको छ।

वडा नम्बर २ मा रहेको तिल्के तालको संरक्षण गरिएको छ भने वडा नम्बर ३ मा गढैया ताल (क), गढैया ताल (ख) र नेतुवा तालसहित तीनवटा ताल छन्। वडा नम्बर ५ मा  दुई पोखरी रहेकोमा दुबैमा अतिक्रमण गरिएको छ। लब्लीचोकको उत्तरमा रहेको ७५० वर्गमिटर क्षेत्रफल र हसनपुरको पुरानो बोरिङ नजिक ५ हजार ८५५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको पोखरी नक्सामा मात्रै सीमित छन्।

त्यस्तै वडा नम्बर ६ मा नठुनिया ताल, कुइलही ताल, सुलखैया ताल, नजरिया ताल, लमही ताल, सानो नजरिया ताल, बुद्ध ताल डबरा ताल र दिदीबहिनी तालसहित ९ वटा ताल छन्। वडा नम्बर ८ मा बन्धवा र तौलाहा ताल छन्। बान्धवा ताल अतिक्रमण गरिएको छ भने तौलाहा तालको संरक्षण गरिएको छ। त्यस्तै, वडा नम्बर ९ मा चौफेरी र चन्द्रमुखी तालको पनि संरक्षण गरिएको छ।

वडा नम्बर १० मा सबैभन्दा बढी १२ ताल छन्। सो वडाभित्रका भष्मा ताल, चौकी ताल, कुमड ताल, सेता ताल, मर्छेहा ताल, जुति ताल, भगहर ताल, सनबोरा ताल, फुलनैया ताल, मटगहना ताल, नसिया ताल र मदेहर ताल पुरेर खेतीपाती गर्ने गरिएको छ। वडा नम्बर ११ मा  बेला ताल, दुदैया ताल, बेलादेवीपुर धाम ताल र पोखरी तालसहित पाँचवटा ताल रहेका छन्।

वडा नम्बर १२ मा ऋसैना ताल छ भने वडा नम्बर १३ मा मतकन्ना ताल रहेको उपमहानगरले जनाएको छ। वडा नम्बर १४ मा बक्तैहिया ताल, लामोहाल ताल, ममता ताल, राम लक्ष्मण ताल, शिव ताल र लाटोमरेको तालसहित ७ वटा ताल रहेको पाइएको छ। वडा नम्बर १५ मा भगहर ताल, चकैगढैया ताल, बढिगदैया ताल, करहिदबरा ताल रहेको पाइएको छ।

वडा नम्बर १६ मा ८ वटा ताल रहेको फेला परेको छ। सो वडामा महादेवा ताल, सहदेव ताल, नौ ताल, जुगनिया ताल, घुरही ताल, दिपेन्द्र चारपाते ताल, पोखरी र वन तलैया ताल रहेको पाइएको छ। यसैगरी, वडा नम्बर १७ मा ४ वटा ताल रहेको फेला परेको छ।

सो वडामा  पथरी पोखरी, कुसुम ताल, पोखरी, सरौटा पोखरी रहेकोमा वडा नम्बर १८ मा  नुकिल ताल, लाली गुँरास वन भित्रको ताल, तीन टुरपी ताल पतन्जलि ताल र श्रीकृष्ण ताल रहेको उपमहानगरले बताएको छ। यस्तै, उपमहानगरको वडा नम्बर १९ मा ६ ताल रहेका छन्। सो वडामा सौनहिया बड्का ताल, सौनहिया छोट्का ताल, छोरलहुवा गुलयारी ताल, मझरीया ताल, पुरैना ताल र छोरलहुवा ताल रहेको पाइएको छ। धनगढी उपमहानगरले तालहरुको खोजी गर्ने, अभिलेख तयार गर्ने र संरक्षण गर्ने नीति लिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस