सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माण सामाग्रीमा फसेर चटकपुरमा गाईको बाच्छो घाइते, स्थानीयद्वारा उद्धार

२०८३ भदौ ३१, ०७:२२ लक्ष्मण ढुङ्गाल

धनगढी–३ चटकपुरमा निर्माण सामग्रीका कारण गौशालामा आश्रति गाईको बाच्छो घाइते भएको छ। नयाँ बसपार्क निर्माण हुने क्षेत्र नजिकैको एक स्थानमा निर्माण कम्पनीले सामग्री अव्यवस्थित र खुला रूपमा छाड्दा बाच्छो कोलदारमा फसेर घाइते भएको हो।

स्थानीयका अनुसार निर्माणस्थल आसपास फलाम, तार तथा अन्य सामग्री जथाभावी रूपमा छाडिएका कारण मानिस तथा पशुचौपायाका लागि जोखिम बढेको छ। निर्माण कम्पनीको लापरबाहीका कारण दुर्घटनाको जोखिम निम्तिएको स्थानीयको भनाइ छ।

कोलदारमा फसेर घाइते अवस्थामा बाच्छो देखेपछि स्थानीयले चटकपुर–३ मा रहेको गौशालाकी महासचिव रिता अवस्थीलाई खबर गरेका थिए। त्यसपछि अवस्थीसहित स्थानीय नागरिकको सहयोगमा बाच्छोको उद्धार गरिएको हो।

उद्धारका क्रममा बाच्छोको शरीरमा जम्मा भएको कोलदार निकालिएको थियो। स्थानीयको सहयोगमा तत्काल उद्धार गरिएपछि बाच्छोलाई थप जोखिमबाट जोगाइएको बताइएको छ।

गौशालाकी महासचिव अवस्थीले निर्माण कार्यका क्रममा प्रयोग हुने सामग्रीलाई जथाभावी छाड्दा पशुचौपायासँगै बालबालिका तथा अन्य नागरिकसमेत जोखिममा पर्न सक्ने बताइन्। उनले निर्माण सामग्री व्यवस्थित रूपमा राख्न र निर्माणस्थलमा आवश्यक सावधानी अपनाउन आग्रह गरिन्।

साथै, सार्वजनिक स्थानमा दूध खाएर गाईलाई जथाभावी नछाड्न पनि उनले आग्रह गरेकी छन्। सडक तथा निर्माणस्थल आसपास छाडिएका पशुका कारण यस्ता घटना दोहोरिन सक्ने भन्दै उनले सम्बन्धित पक्षलाई सचेत हुन आग्रह गरिन्।

निर्माण सामग्री अव्यवस्थित रूपमा छाडिएको विषयमा सम्बन्धित निकायले अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्ने स्थानीयको माग छ। निर्माणस्थलमा सुरक्षा मापदण्ड पालना नगरे भविष्यमा मानिस तथा पशुचौपायासमेत गम्भीर दुर्घटनामा पर्न सक्ने भएकाले तत्काल व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस