निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
धनगढी: जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले दीप प्रज्वलन गरेको छ ।
हस्पिटल परिसरमा आयोजित कार्यक्रममा आन्दोलनका क्रममा ज्यान गुमाएका ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । सोही अवसरमा शहीद गौरव जोशीको परिवारलाई हस्पिटलका तर्फबाट ३ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरिएको छ ।
परिवर्तन, सुशासन र उज्ज्वल भविष्यको आकांक्षासहित गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको योगदान र बलिदानको स्मरण गर्दै कार्यक्रम आयोजना गरिएको हस्पिटलले जनाएको छ ।
कार्यक्रममा प्राध्यापक डा। हेमराज पन्त, नागरिक समाजका अगुवा प्रमोद पाठक, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा, शहीद गौरव जोशीकी आमा गुन्ना जोशी, निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्तसहित चिकित्सक, कर्मचारी, पत्रकार तथा जेनजी आन्दोलनमा सहभागी युवायुवतीहरूको सहभागिता थियो ।
कार्यक्रमकै क्रममा हस्पिटलका अध्यक्ष तीर्थराज पन्त, बालरोग विशेषज्ञ डा। प्रदीप मिश्र र प्राध्यापक डा। हेमराज पन्तले संयुक्त रूपमा शहीद गौरव जोशीकी आमा गुन्ना जोशीलाई ३ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
दीप प्रज्वलनपछि सहभागीहरूले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान र बलिदानलाई स्मरण गरेका थिए ।