सुदूरपश्चिममा पहिरोका कारण अवरुद्ध सडक कहाँ कहाँ खुल्याे?
धनगढी: लगातारको वर्षापछि खसेको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कञ्चनपुर र बाजुराका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरी र ट्राफिक प्रहरीद्वारा सार्वजनिक पछिल्लो विवरण अनुसार पहिरो हटाई यातायात सहज बनाउने कार्य भइरहेको छ।
कञ्चनपुर-महाकाली करिडोरअन्तर्गत भीमदत्त नगरपालिका–९, खल्ला मस्टेटीमा गएको ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो पन्छाएर सडक खुलाउनका लागि जेसीबी तथा हेभी इक्विपमेन्ट परिचालन गरी काम भइरहेको प्रहरीले जनाएको छ।
बाजुरा-मार्तडी–अछाम साँफेबगर सडकखण्डअन्तर्गत कारागार मोड, बिनोद स्मृति प्रतिक्षालय, सेलागाड र सुवाकाँध क्षेत्रमा पहिरो खसेको छ। अन्य क्षेत्रमा सवारी साधन सञ्चालनमा आए पनि कारागार मोडमा सडकमा खसेको ठूलो ढुङ्गा फुटाउने कार्य जारी रहेकाले यातायात प्रभावित बनेको छ।
प्रहरीले यात्रुहरूलाई यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। सडक सम्बन्धी थप जानकारी तथा आपत्कालीन सहयोगका लागि नेपाल प्रहरी १०० र ट्राफिक प्रहरी १०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।