भासु भीरमा गुडिरहेको बोलेरोमा ढुंगा खस्दा चालक घाइते
धनगढी। कैलालीको भासु भीरमा गुडिरहेको बोलेरो जिपमाथि माथिबाट ढुंगा खस्दा चालक घाइते भएका छन्।
आइतबार साँझ भएको घटनामा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१२, जोगबुडाका २२ वर्षीय दिनेश नाथ घाइते भएका हुन्। नाथको खुट्टामा चोट लागेको जनाइएको छ।
अत्तरियाबाट जोगबुडा जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८०३ नम्बरको बोलेरो जिपमा भासु भीरमा माथिबाट ढुंगा खसेको थियो। ढुंगा खस्दा जिपमा समेत क्षति पुगेको छ।
घाइते नाथको धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।