सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्रीलाई ‘खोलादेली’को हस्तनिर्मित नमुना फोटो फ्रेम हस्तान्तरण

२०८३ भदौ १९, ०४:५२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको मौलिक काष्ठकला तथा वास्तुकलाको संरक्षण र प्रवद्र्धनका लागि प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई ‘खोलादेली’को नमुना फोटो फ्रेम हस्तान्तरण गरिएको छ ।

पछिल्ला वर्षहरूमा आधुनिक कङ्क्रिटका संरचना तथा बाह्य जिल्ला र प्रदेशबाट भित्रिने एल्युमिनियम र फाइबरका ढोकाको प्रयोग बढ्दै गएपछि सुदूरपश्चिमको परम्परागत काष्ठकला संकटमा परेको भन्दै पर्यटन व्यवसायी र कालिगढले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

पर्यटन व्यवसायीको सहयोगमा बैतडीबाट धनगढी पुगेका कालिगढ धर्मराम वडले मुख्यमन्त्रीलाई खोलादेलीको नमुना फोटो फ्रेम हस्तान्तरण गरेका हुन्।

सुदूरपश्चिमको परम्परागत वास्तुकलामा ‘खोलादेली’ अर्थात् कलात्मक मूल ढोका र त्यसको माथि रहने अर्धचन्द्राकार ‘ढोला’को विशिष्ट सांस्कृतिक महत्व रहेको कालिगढ वडले बताउनुभयो । सरकारी तथा निजी भवनमा यसको प्रयोग घट्दै गएपछि मौलिक कला लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

सुदूरपश्चिमका पर्यटन व्यवसायी र कालिगढको पहलमा प्रदेश सरकारको ध्यानाकर्षण गराउन मुख्यमन्त्रीको फोटोसहित खोलादेलीको नमुना फोटो फ्रेम तयार पारिएको पर्यटन व्यवसायी मायाप्रकाश भट्टले बताए। 

उनका अनुसार सालको काठ प्रयोग गरी जयलक्ष्मी फर्निचरले करिब १० हजार रुपैयाँको लागतमा कालिगढमार्फत उक्त फोटो फ्रेम तयार गरेको हो ।

नमुना फ्रेम ग्रहण गर्दै मुख्यमन्त्री भट्टले प्रदेश राजधानी निर्माण गर्दा सुदूरपश्चिमको मौलिक कला, संस्कृति, इतिहास र पुरातत्व झल्किने काष्ठकलाको प्रयोग गर्ने प्रतिबद्धता जनाए। 

उनले सुदूरपश्चिमको ‘खोलादेली’ जीवन्त कला र संस्कृति भएकाले यसको संरक्षण गरिने बताए। प्रदेश राजधानी निर्माणका लागि यसै वर्ष स्रोतको व्यवस्था गर्ने तयारी रहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री भट्टले अन्य प्रदेशको शैलीमा मात्र राजधानी निर्माण नगरी सुदूरपश्चिमको मौलिक पहिचान झल्किने गरी राजधानी बनाउने बताए। 

काठमाडौँमा पर्यटकहरू आधुनिक ठूला महलभन्दा ऐतिहासिक तथा मौलिक सम्पदा हेर्न पुग्ने उदाहरण दिँदै उनले सुदूरपश्चिमको कला, संस्कृति, पुरातत्व र पहिचान समेटिएको राजधानी निर्माण गर्ने बताए। 

मुख्यमन्त्री भट्टले प्रदेश सरकार, पर्यटन व्यवसायी र खोलादेली निर्माण गर्ने कालिगढहरूको सोच मिलेको भन्दै मौलिक काष्ठकलाको संरक्षणमा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गरे। 

कमेन्ट लोड गर्नुस