त्रिशूली ३ 'ए' को सुरुङभित्र एक शव फेला
काठमाण्डाैँः त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको सुरुङभित्र एउटा शव फेला परेको छ । सशस्त्र प्रहरी मुख्यालयले जनाएअनुसार सुरुङको भित्र पुगेका प्रहरी हवलदार पवन तामाङले भित्र एउटा शव भेटिएको बताएका छन् ।
त्यस्तै त्रिशूली ३ 'ए' जलविद्युत् केन्द्रका कार्यालय प्रमुख आभाष ओझाले पनि एउटा शव भेटिएको र पहिचान हुन बाँकी रहेको बताए ।
यसअघि शुक्रबार बिहान सेना, सशस्त्र प्रहरीलगायतको संयुक्त उद्धार टोलीले काठमाडौंका कबिर महर्जन र सप्तरीका सञ्जय शाहलाई जीवितै उद्धार गरिएको थियो । दुवैजनालाई उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ ।