शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयः सुदूरपश्चिमको स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको नयाँ आशा
रक्षाबन्धनको सार्वजनिक बिदाको दिन सुदूरपश्चिमको आशा र गौरवको केन्द्रका रूपमा स्थापित हुँदै गरेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा पुग्ने अवसर प्राप्त भयो। बिदाको दिन पनि विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी तथा सम्बन्धित विज्ञहरू विश्वविद्यालयलाई मूर्तरूप दिन सक्रिय रूपमा खटिरहेको दृश्य देख्दा उत्साह र आशा दुवै जाग्यो।
विशेषगरी विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीमचन्दको दृढ इच्छाशक्ति, सक्रियता र निरन्तरको खटाइ प्रशंसनीय देखिन्छ। गेटा शिक्षण अस्पताललाई यथाशीघ्र सञ्चालनमा ल्याउने उहाँहरूको प्रयासले विश्वविद्यालयप्रतिको विश्वास अझ बढाएको छ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिकल्पना अब केवल कागजमा सीमित विषय रहेन। विश्वविद्यालय स्थापनासँगै कानुनी, संस्थागत, प्रशासनिक तथा भौतिक पूर्वाधार विकासका कामहरू अघि बढिरहेका छन्। अबको मुख्य चुनौती भनेको उपलब्ध जग्गा, भवन, उपकरण तथा अन्य पूर्वाधारको अधिकतम उपयोग गर्दै विश्वविद्यालयलाई शीघ्र र प्रभावकारी रूपमा पूर्ण क्षमतातर्फ लैजानु हो।
शिक्षण अस्पताल: विश्वविद्यालयको मेरुदण्ड
स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि शिक्षण अस्पताल केवल बिरामी उपचार गर्ने संस्था होइन; यो चिकित्सा शिक्षा, विशेषज्ञ जनशक्ति उत्पादन, अनुसन्धान तथा गुणस्तरीय स्वास्थ्य सेवाको आधार हो। त्यसैले गेटामा शिक्षण अस्पतालको सञ्चालन विश्वविद्यालयको भविष्यसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण कदम हो।प्रारम्भिक चरणमा ३०० शय्याबाट सञ्चालन गर्दै अस्पताललाई क्रमशः ५००, ६०० हुँदै आवश्यकताअनुसार अझ ठूलो क्षमतामा विस्तार गर्न सकिन्छ।
उपलब्ध भौतिक पूर्वाधार र उपकरणको प्रभावकारी उपयोग गर्दै यसलाई अत्याधुनिक विशेषज्ञ तथा सुपर स्पेसियालिटी सेवासहितको अस्पतालका रूपमा विकास गर्नुपर्छ। अस्पतालमा पर्याप्त बिरामीको चाप र विविध प्रकारका क्लिनिकल केस सुनिश्चित हुनु विद्यार्थीको व्यावहारिक शिक्षाका लागि पनि उत्तिकै महत्वपूर्ण छ। त्यसैले अस्पतालको विकासलाई विश्वविद्यालयको शैक्षिक कार्यक्रमसँग एकीकृत ढंगले अघि बढाउनु आवश्यक छ।
चिकित्सा शिक्षा विस्तारको अवसर
विश्वविद्यालयमा एमबिबिएस लगायत स्नातक, स्नातकोत्तर र क्रमशः सुपर स्पेसियालिटी तहका कार्यक्रम सञ्चालन गर्ने ठूलो सम्भावना छ जसका लागि पदाधिकारीहरु फ्याकल्टी ब्यबस्थापन देखि लजिस्टीक ब्यबस्थापनमा लागि रहेको देखिन्छ। चिकित्सा शिक्षा गुणस्तरीय बनाउन दक्ष प्राध्यापक, आधुनिक प्रयोगशाला, सिमुलेसन तथा सीप प्रयोगशाला, समृद्ध पुस्तकालय, अनुसन्धान पूर्वाधार र पर्याप्त क्लिनिकल अभ्यासको व्यवस्था अपरिहार्य हुन्छ।
हाल विश्वविद्यालयले आगामी शैक्षिक सत्रका लागि एमबीबीएस ५०, बीएससी नर्सिङ ३०, बीएमएलटी २० र अप्टोमेट्री २० गरी विभिन्न शैक्षिक कार्यक्रमका लागि सिट सिफारिस गरेको जानकारी सार्वजनिक गरेको छ। यो सुरुवात सुदूरपश्चिमको चिकित्सा शिक्षा विकासका लागि महत्वपूर्ण आधार बन्न सक्छ।
यसलाई क्रमशः विस्तार गर्दै प्रदेशभित्रै दक्ष चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा विशेषज्ञ जनशक्ति उत्पादन गर्ने वातावरण सिर्जना गर्नुपर्छ। त्यसो गर्न सकिएमा सुदूरपश्चिमबाट ठूलो संख्यामा विद्यार्थी अन्य प्रदेश वा विदेश जानुपर्ने बाध्यता कम हुनुका साथै प्रदेशमै स्वास्थ्य जनशक्ति उत्पादन र उपयोग गर्ने चक्र निर्माण हुनेछ।
सुपर स्पेसियालिटी सेवा: सुदूरपश्चिमको अपरिहार्य आवश्यकता
सुदूरपश्चिमका लाखौँ नागरिक अझै पनि जटिल तथा विशेषज्ञ उपचारका लागि काठमाडौं वा भारतका विभिन्न शहरमा जानुपर्ने बाध्यतामा छन्।
मुटु, क्यान्सर, न्युरोसर्जरी, मिर्गौला, कार्डियोथोरासिक सर्जरी, ट्रमा लगायतका उपचारका लागि प्रदेशबाहिर जानुपर्दा नागरिकले ठूलो आर्थिक भार, समय र मानसिक तनाव व्यहोर्नुपर्छ।यस अवस्थालाई परिवर्तन गर्न विश्वविद्यालय अन्तर्गत चरणबद्ध रूपमामुटु रोग केन्द्र, क्यान्सर केन्द्र, स्नायु विज्ञान तथा स्नायु शल्यक्रिया केन्द्र, मृगौला रोग केन्द्र, ट्रमा केन्द्र तथा आमा तथा शिशु केन्द्र जस्ता विशिष्टीकृत केन्द्र स्थापना गर्न सकिन्छ।
यसबाट सुदूरपश्चिमका नागरिकले आफ्नै प्रदेशमा उच्चस्तरीय स्वास्थ्य सेवा पाउनेछन्। भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको भौगोलिक अवस्थालाई हेर्दा भविष्यमा छिमेकी भारतीय क्षेत्रका नागरिकसमेत गुणस्तरीय स्वास्थ्य सेवाका लागि यहाँ आउने सम्भावना छ। यसरी सुदूरपश्चिमलाई स्वास्थ्य सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने आधारसमेत निर्माण हुन सक्छ। विश्वविद्यालय ऐनले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहअन्तर्गत सञ्चालित अस्पतालसँग सम्झौता गरी त्यस्ता अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा तिनलाई शिक्षण अस्पतालका रूपमा उपयोग गर्न सक्ने व्यवस्था गरेको छ।
जस अनुसार हालै मात्र चार वटा प्रादेशिक अस्पताल संग शिक्षण अस्पतालको रुपमा बिकास गर्ने सम्झौता भएको छ जुन यो व्यवस्था सुदूरपश्चिमका लागि ठूलो अवसर हो।त्यसैगरी विश्वविद्यालय र प्रदेशका अस्पतालबीच विशेषज्ञ सेवा, सीएमई÷सीपीडी, टेलिमेडिसिन, अनुसन्धान, स्वास्थ्यकर्मीको क्षमता विकास तथा जनशक्ति आदानप्रदानमा सहकार्य गर्न सकिन्छ।
यसले विश्वविद्यालयलाई एउटा मात्र अस्पतालमा सीमित नभई सम्पूर्ण प्रदेशको स्वास्थ्य प्रणालीसँग जोड्नेछ। स्वास्थ्य विज्ञान विश्वविद्यालयको सफलता केवल कति विद्यार्थी भर्ना भए वा कति शय्याको अस्पताल सञ्चालन भयो भन्ने आधारमा मात्र मापन हुनुहुँदैन। विश्वविद्यालय अनुसन्धान र नवप्रवर्तनको केन्द्र पनि बन्नुपर्छ।
सुदूरपश्चिमका विशिष्ट स्वास्थ्य समस्या—मातृ तथा शिशु स्वास्थ्य, संक्रामक रोग, गैरसञ्चारी रोग, औषधिको तर्कसंगत प्रयोग, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच, पोषण, विपद् तथा जलवायु परिवर्तनसँग सम्बन्धित स्वास्थ्य समस्यामा अनुसन्धानलाई प्राथमिकता दिन सकिन्छ। स्थानीय समस्यामा आधारित अनुसन्धानबाट प्राप्त प्रमाणलाई प्रदेशको स्वास्थ्य नीति र कार्यक्रम निर्माणमा प्रयोग गर्न सके विश्वविद्यालयले शैक्षिक संस्थाभन्दा माथि उठेर नीति निर्माणमा समेत महत्वपूर्ण योगदान पु¥याउन सक्छ।
अहिलेको गति कायम राख्नु आवश्यक
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अब परिकल्पनाको चरणबाट कार्यान्वयनको चरणमा प्रवेश गरिरहेको छ। नेतृत्व नियुक्ति, संस्थागत संरचना निर्माण, जनशक्ति व्यवस्थापन, शैक्षिक कार्यक्रमको तयारी तथा गेटा शिक्षण अस्पताल सञ्चालनको तयारीजस्ता कामहरू अघि बढ्नु सकारात्मक संकेत हुन्।
विश्वविद्यालय नेतृत्वले आगामी वर्षहरूमा चिकित्सा शिक्षाका कार्यक्रम विस्तार गर्ने र गेटाको शिक्षण अस्पताल ई समेत क्रमशः ठूलो क्षमतामा विकास गर्ने लक्ष्य अघि सारेको छ। यी लक्ष्य महत्वाकांक्षी भए पनि स्पष्ट कार्ययोजना, पर्याप्त स्रोत, सक्षम जनशक्ति, अन्तरनिकाय समन्वय र राजनीतिक तथा प्रशासनिक प्रतिबद्धताका साथ अघि बढ्न सकिन्छ।
विश्वविद्यालयको भौतिक विस्तारसँगै शैक्षिक गुणस्तर, अस्पतालको सेवा गुणस्तर, सुशासन, पारदर्शिता, अनुसन्धान र मानव संसाधन विकासलाई समान प्राथमिकता दिनुपर्छ। हाल देखिएको नेतृत्वको सक्रियता र प्रतिबद्धतालाई संस्थागत प्रणालीमा रूपान्तरण गर्न सकियो भने विश्वविद्यालयको विकास दीर्घकालीन र दिगो बन्नेछ।
सुदूरपश्चिमको मात्र होइन, राष्ट्रकै सम्पत्ति
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको सपना मात्र होइन, नेपालको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको विकेन्द्रीकरणको एउटा महत्वपूर्ण अवसर हो। यस विश्वविद्यालयको सफलताले सुदूरपश्चिमका लाखौँ नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा, हजारौँ युवालाई आफ्नै प्रदेशमा उच्च शिक्षाको अवसर र देशलाई आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान दिन सक्छ। आज आवश्यकता विश्वविद्यालय स्थापना भयो भनेर मात्र सन्तुष्ट हुने होइन। अब यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, गेटा शिक्षण अस्पताललाई सुदृढ बनाउने, चिकित्सा शिक्षा विस्तार गर्ने, प्रदेशका अस्पताललाई शिक्षण सञ्जालमा जोड्ने, सुपर स्पेसियालिटी सेवा विकास गर्ने र अनुसन्धान तथा नवप्रवर्तनको केन्द्र बनाउने हो।
अन्तमा
रक्षाबन्धनको बिदाको दिन र अन्य बिदाको दिन पनि विश्वविद्यालय निर्माणका लागि खटिरहेको नेतृत्व, शिक्षक, कर्मचारी तथा विज्ञहरू देख्दा एउटा विश्वास जाग्यो, इच्छाशक्ति, स्पष्ट योजना र निरन्तर प्रयास कायम रह्यो भने यो विश्वविद्यालय सुदूरपश्चिमको मात्र होइन, सम्पूर्ण नेपालको स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र अनुसन्धानको उत्कृष्ट केन्द्र बन्न सक्छ। यो विश्वविद्यालयको सफलता एउटा संस्थाको सफलता मात्र हुने छैन। यो सुदूरपश्चिमका लाखौँ नागरिकको स्वास्थ्य सुरक्षा, हजारौँ युवाको भविष्य र आगामी पुस्ताको समृद्धिसँग जोडिएको साझा राष्ट्रिय अभियान हुनेछ।
लेखकः सह–प्रा.डा. डबल बहादुर धामी
पूर्व रेक्टर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान