बिरुडा धोएर न्यालाको गौरापर्व मनाइँदै
कञ्चनपुरः पर्व गौराको आज दोस्रो दिन बिरुडा धोएर न्वालाको गौरा मनाइँदैछ। मङ्गलबारदेखि विधिवत रूपमा सुरु भएको गौरापर्वको दोस्रो दिन आज बिरुडा बर्तालु महिलाले बिरुडा धोएर न्यालाको गौरा मनाउँदैछन्। गौरा पर्वका जानकार निर्मला जोशीका अनुसार बिरुडा पञ्चमीको पहिलो दिन तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिङ्गारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा भिजाउने प्रचलन रहिआएको छ।
दोस्रो दिन त्यही बिरुडालाई पानीको धारोमा लगेर माङ्गलिक फाग सगुनका साथ बिरुडा धुने गरिन्छ। “भिजाएका बिरुडा नजिकैको पवित्र धारा, मुहान, न्वालोमा लगेर सामूहिक रूपमा धोइन्छ”, जोशीले भनिन्, “त्यही बिरुडालाई सप्तमीको दिन गोरा भित्र्याउने बेला प्रसादका रूपमा चढाइन्छ र त्यो चढाएको बिरुडाले अष्टमीको दिन दिनभरि गोरा र महेश्वरको जन्मदेखि विवाहसम्मको लिलालाई फाग र गीतका माध्यमबाट पूजाआराधना गरिन्छ।”
सप्तमीमा धानको खेतबाट साउँ, तिल, अपामार्ग आदि बोटहरू सङ्कलन गरेर सञ्जा गौरा तयार गरिने उनले बताइन्। गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गर्ने बिरुडालाई गौरीको प्रसादका रूपमा लिइने उनले बताइन्। “पुत्रदा एकादशीको व्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत रूपमा सुरु हुन्छ, गौरा पर्वको व्रत उपासनाका लागि पुत्रदा एकादशीको व्रत अनिवार्य हुन्छ”, जोशीले भनिन्, “एक महिना अगाडिदेखि नै शुद्धशाकाहार बसी बिरुडा पञ्चमीको दिन महिलाहरूले बिरुडा (पाँच प्रकारका अन्न) तामाको भाडामा भिजाउने गरिन्छ”, बिरुडा भिजाउने बेला महिलाहरूले माङ्गलिक फाग सगुन गाउने गर्दछन्।
सप्तमीका दिन गौराको प्रतिमा बनाई ‘गौराघर’मा भित्र्याइउने बर्तालु राजेश्वरी अवस्थीले बताइन्। “गौरा हाम्रो सुदूरपश्चिमका नारीहरूको ठूलो पर्व हो”, उनले भनिन्, “जसरी पुरषले जनै धारण गर्छन्, नारीले पनि यज्ञोपवितका रूपमा यो पर्वमा दुवधागो लगाइन्छ।” उनले श्रीमान् तथा घरपरिवारका सदस्यहरू निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धिका लागि गौराको व्रत बस्ने गरेको बताइन्। अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ। त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठबाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाहरूका साथमा नचाउने गरिन्छ। आजकै दिनदेखि ठाउँठाउँमा देउडासमेत खेलिने प्रचलन छ। यस पर्वमा गौरा अर्थात् पार्वती र महेश्वर अर्थात् महादेवको पूजा गरिन्छ। महिला उपवास बसी स्नान गरी, शुद्ध पवित्र र नयाँ वस्त्र लगाएर शिव पार्वतीको पूजाआजा गर्छन्।
प्रचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीका रूपमा पूजाअर्चना गरिँदै आएको लोकसंस्कृतिका जानकार कविराज भट्ट बताउँछन्। “यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा मनाइन्छ”, भट्टले भन्नुभयो, “शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ।”
उनका अनुसार यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ। गौरा पर्व डोटी समुदायमा परम्परादेखि चल्दै आएको नारीप्रधान मौलिक पर्व हो। यस पर्वलाई यो क्षेत्रमा दसैँभन्दा पनि बढी महत्व दिएर प्राचीनकालदेखि मनाइँदै आएको पाइन्छ। स्कन्द पुराणको मानसखण्डमा उल्लेख भएअनुसार कैलाश पर्वतको राजा हिमालयकी छोरी गौरीले महादेव पति पाउँ भनी बाह्र वर्षसम्म कठोर तपस्या बसेकाले महादेव खुसी भई दर्शन दिइ गौरी र शिवको विवाह भएको दिनदेखि नै सम्पूर्ण नारीले गौरी र महादेवको पूजाआजा गरी शिव पार्वतीको आराधना गर्ने र मनको चिताएको वर माग्ने प्रचलनका साथमा गौरापर्व मनाइँदै आएको उनले बताए।
गौराकै अवसरमा सुदूरपश्चिममा देउडा खेलसमेत हुने गरेको छ। महिलाहरूले गौराको व्रत बस्ने गरेका छन् भने पुरुषहरूले यो पर्वको अवसरमा मनोरञ्जनका लागि सुदूरपश्चिमका लोकगीत देउडा डुस्को, धुमारी खेल खेल्ने गरेका छन्। पछिल्लो समय गौरा पर्व काठमाडौँ तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरूले पनि धुमधामका साथ मनाउने गर्दछन्।