सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजाजका दुई नयाँ इलेक्ट्रिक स्कुटर धनगढीमा सार्वजनिक

२०८३ भदौ १६, ०४:०३ लक्ष्मण ढुङ्गाल

धनगढी। बजाज अटोले नेपालमा आफ्नो विद्युतीय सवारीसाधनको पोर्टफोलियो विस्तार गर्दै चेतकका दुई नयाँ इलेक्ट्रिक स्कुटर सी २५०१ र सी ३५०३ सुदूरपश्चिमको धनगढीबाट बिक्री सुरु गरेको छ।

धनगढीको बोराडाँडीस्थित जैमिनी अटोमोबाइल्स प्रालि। मा आयोजित एक कार्यक्रमबीच बजाज चेतकका दुवै मोडल सार्वजनिक गरिएको हो। बजाजका दुईपांग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा प्रमुख अतिथि रहेका थिए। जैमिनी अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर कृष्ण बजगाईले स्वागत मन्तव्य राखेका थिए भने हंसराज हुलासचन्द एण्ड कम्पनीका जनरल म्यानेजर योगेन्द्र श्रेष्ठको पनि कार्यक्रममा सहभागिता थियो।

कम्पनीका एचओडी रामेश्वर घिमिरेले दुवै स्कुटरका विशेषता तथा प्राविधिक पक्षबारे जानकारी दिएका थिए। उनका अनुसार चेतक सी २५०१ मा २।५ किलोवाट आवरको लिथियम–आयन ब्याट्री जडान गरिएको छ। यसले एकपटकको चार्जमा एलडीसीअनुसार ११३ किलोमिटरसम्म रेन्ज र अधिकतम ६० किलोमिटर प्रतिघण्टाको गति प्रदान गर्छ। फास्ट चार्जिङमार्फत शून्यदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न करिब २ घण्टा २५ मिनेट लाग्ने कम्पनीले जनाएको छ।

सी २५०१ मा ब्राइट एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, म्युजिक प्लेरपज कन्ट्रोल, रिभर्स मोड तथा २५ लिटरको अन्डर–सिट स्टोरेजलगायत सुविधा छन्। जैमिनी अटोमोबाइल्सले यसको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ।

त्यस्तै, चेतक सी ३५०३ मा ३।५ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा एलडीसीअनुसार १५९ किलोमिटरसम्म रेन्ज र अधिकतम ७० किलोमिटर प्रतिघण्टाको गति प्रदान गर्छ।

सी ३५०३ मा डिजिटल एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, इनकमिङ कल तथा म्यासेज अलर्ट र ३५ लिटरको अन्डर–सिट स्टोरेज उपलब्ध छ। क्लासिक डीआरएल हेडलाम्पसहितको डिजाइनमा रहेको यो स्कुटर इन्डिगो मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चारकोल ग्रे र साइबर ह्वाइट गरी चार रङमा उपलब्ध हुनेछ। यसको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।

कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले चारपांग्रे विद्युतीय सवारीको बजार विस्तार भइरहे पनि दुईपांग्रे विद्युतीय सवारीको उपस्थिति तुलनात्मक रूपमा कम रहेको बताए। बढ्दो आधुनिकीकरणसँगै वातावरणमैत्री यातायातप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै उनले इलेक्ट्रिक सवारीसाधन प्रदेशवासीको रोजाइमा पर्ने विश्वास व्यक्त गरे।

जैमिनी अटोमोबाइल्सका डाइरेक्टर आशुतोष बजगाईले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गर्दै बजाज चेतकका नयाँ मोडल बिक्रीमा ल्याइएको बताए। उनले अन्य कम्पनीका विद्युतीय सवारीलाई जस्तै बजाज चेतकलाई पनि प्रदेशवासीले साथ दिने विश्वास व्यक्त गर्दै उपभोक्तालाई नयाँ प्रविधिको विद्युतीय सवारी प्रयोग गर्न आग्रह गरे।

कम्पनीका अनुसार आजदेखि नै सुदूरपश्चिममा चेतक सी २५०१ र सी ३५०३ को बिक्री सुरु भएको छ। दुवै मोडल नेपालभरका छनोट गरिएका बजाज डिलरमा बुकिङका लागि समेत उपलब्ध छन्। विद्युतीय सवारी प्रयोगकर्तालाई सहज र भरपर्दो स्वामित्व अनुभव प्रदान गर्न देशभर रहेको सर्भिस नेटवर्कमार्फत निरन्तर सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस