सुदूर नेपाललाई विश्वसँग जोड्दै

निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह र भाजपा का राष्ट्रिय उपाध्यक्ष तीरथ सिंह रावत बीच भेटवार्ता

२०८३ भदौ १४, ०४:४८ खबर संवाददाता

नयाँदिल्ली: नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तराखण्डका पूर्वमुख्यमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय उपाध्यक्ष तीरथ सिंह रावतबीच शनिबार नयाँदिल्लीमा भेटवार्ता भएको छ।

उपचारका लागि नयाँदिल्लीमा रहेका शाह र रावतबीच भएको भेटमा हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिबारे विशेष छलफल भएको थियो।

भेटका क्रममा रावतले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरे। उनले विपद्को यस कठिन घडीमा नेपाललाई मानवीय सहयोग तथा उद्धार र राहतका लागि भारत सरकार तयार रहेको बताएका थिए।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ। भेटवार्तालाई नेपाल–भारतबीचको आपसी सद्भाव, मानवीय संवेदना तथा विपद्का समयमा सहकार्यको भावनाका रूपमा हेरिएको छ।

निवर्तमान मुख्यमन्त्री शाह भदौ १० गते उपचारका लागि स्थलमार्ग हुँदै भारत प्रस्थान गरेका थिए।
 

कमेन्ट लोड गर्नुस