सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानवसेवा आश्रमको १४औँ वार्षिकोत्सव, १४ हजारभन्दा बढी सहयोगापेक्षी मानवको उद्धार

२०८३ भदौ १४, ०१:०२ खबर संवाददाता

धनगढी: सडकआश्रित मानवहरूको उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनमा समर्पित मानवसेवा आश्रमले शनिबार आफ्नो १४औँ वार्षिकोत्सव मनाएको छ। वि.सं. २०६९ भदौ १३ गते हेटौँडाबाट सेवा शुभारम्भ गरेको आश्रमले १४ वर्षको अवधिमा सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य १४ हजार १६० जना सहयोगापेक्षी मानवको उद्धार गरी सेवा प्रदान गरेको जनाएको छ।

आश्रमका अनुसार उद्धार गरिएकामध्ये ५ हजार २ सय ५५ जना महिला र ८ हजार ९ सय ५ जना पुरुष रहेका छन्। हालसम्म करिब ६ हजार जनालाई पारिवारिक पुनर्मिलन गराइएको तथा १ हजार ९४ जनालाई समुदायमा पुनःस्थापना गरिएको आश्रमले जनाएको छ।

हाल मानवसेवा आश्रमका विभिन्न केन्द्रमा ९ सय ३७ जना महिला र १ हजार ४ सय ६६ जना पुरुष गरी २ हजार ४ सय ३ जना आश्रित रहेका छन्।
तीन तहका सरकारको आंशिक सहयोग तथा विभिन्न दाता र शुभेच्छुकको सहयोगमा आश्रमले देशका विभिन्न जिल्लामा ३५ वटा शाखा विस्तार गरी सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनको काम गर्दै आएको छ।

आश्रमले ७७ वटै जिल्लामा बेवारिसे जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवलाई स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवाला निकायसँगको समन्वयमा उद्धार गर्दै आएको जनाएको छ। उद्धार गरिएकालाई गाँस, बास र कपाससँगै स्वास्थ्य तथा शिक्षाको समेत व्यवस्था गर्दै आएको आश्रमले जनाएको छ।

यसैबीच, आश्रमले यसै वर्षभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल घोषणा गर्ने लक्ष्य राख्दै उद्धार तथा पारिवारिक पुनर्मिलन अभियानलाई तीव्र बनाएको छ।
१४औँ स्थापना दिवसकै अवसरमा आश्रमले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आश्रमका विभिन्न शाखामा

दीप प्रज्वलन गरी शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
विपद्बाट प्रभावित परिवारजनलाई यस दुःखद् घडीमा आश्रमको साथ र सहयोग निरन्तर रहने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

कमेन्ट लोड गर्नुस