भोटेकोशी बाढीः तेह्र सशस्त्र प्रहरी सम्पर्कविहीन
काठमाडौँ: रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट रसुवाको टिमुरे र मैलुङ क्षेत्रमा ड्युटीमा खटिइएका १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार टिमुरेबाट नौ र मैलुङबाट चार जना सम्पर्कविहीन भएका छन् । बाढीपछि त्यस क्षेत्रमा सञ्चार सम्पर्क टुटेको छ । उनीहरुको खोजी भइरहेको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सिनामङ्गलस्थित विपद् उद्धार गणबाट ६० जनाको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । सशस्त्र प्रहरीको टोली रसुवादेखि नवलपरासीको त्रिवेणीसम्म पूर्वतयारी र प्रतिकार्यमा जुटेको छ ।
बाढीबाट रसुवागढी क्षेत्रमा कार्यरत केही कर्मचारी, पर्यटक र सर्वसाधारणसमेत सम्पर्क बाहिर रहेको सुरक्षा फौजको भनाइ छ ।