सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेकाे आरोपमा गोदावरीका एक युवक पक्राउ

२०८३ भदौ ९, ०५:४८ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नगरपालिका–८ धनचौरीमा शारीरिक तथा मानसिक रूपमा अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका करिब २५ वर्षीय कृष्णराज भट्टराईलाई इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियाले पक्राउ गरेको हो। पीडित परिवारले भट्टराईविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्।

जाहेरीअनुसार घटना बुधबार बिहान करिब ११ बजे भएको हो। घरका सदस्यहरू भूमि सम्बन्धी समस्या समाधान आयोगअन्तर्गत भइरहेको जग्गा नापजाँचका लागि बाहिर गएको समयमा ३० वर्षीया महिला घरमा एक्लै थिइन्। जन्मजात शारीरिक तथा मानसिक अपाङ्गता रहेकी ती महिलामाथि भट्टराईले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।

घर फर्किएका परिवारका सदस्यले कोठाबाट रोएको आवाज सुनेपछि भित्र जाँदा भट्टराईलाई महिलामाथि करणी गरिरहेको अवस्थामा भेटेको जाहेरीमा दाबी गरिएको छ। त्यसक्रममा पीडितकी भाउजुले भट्टराईलाई रोक्न खोज्दा उनले हात समातेर भुइँमा लडाएको र लगाएको कुर्तासमेत च्यातेको आरोप लगाइएको छ। त्यसपछि भट्टराई घटनास्थलबाट फरार भएको जाहेरीमा उल्लेख छ।

पीडित परिवारले महिलाको स्वास्थ्य परीक्षण गराउन, घटनाबारे गाउँ सर्जमिन गरी आवश्यक प्रमाण संकलन गर्न तथा कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार घटनाबारे मौखिक जानकारी पाएलगत्तै भट्टराईलाई पक्राउ गरिएको थियो। पीडित परिवारले जाहेरीसमेत दिइसकेकाले अब मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पीडित परिवारले घटनामा कुनै पनि राजनीतिक चलखेल नगरी निष्पक्ष अनुसन्धानमार्फत आफूहरूले न्याय पाउनुपर्ने माग गरेका छन्।

कमेन्ट लोड गर्नुस