बझाङमा ५२५ लिटर अवैध घरेलु मदिरा तथा २५० लिटर कच्चा पदार्थ नष्ट
बझाङ: जिल्ला प्रहरी कार्यालय बझाङले जयपृथ्वी नगरपालिका–१०, चैनपुर बजार क्षेत्रका विभिन्न होटल तथा पसलबाट बरामद गरिएको ठूलो परिमाणको अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) तेजबहादुर रावलको कमाण्डमा खटिएको प्रहरी टोलीले चैनपुर बजार क्षेत्रमा रहेका विभिन्न होटल तथा पसलमा अनुगमन गर्ने क्रममा करिब ५२५ लिटर तयारी अवैध घरेलु मदिरा र २५० लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको हो।
बरामद गरिएको अवैध घरेलु मदिरा तथा कच्चा पदार्थलाई आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्रहरीले अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण गर्ने गतिविधि नियन्त्रण गर्न नियमित रूपमा अनुगमन तथा कारबाही गर्दै आएको जनाएको छ।