सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबिचको सहकार्य हुनुपर्छः मुख्यमन्त्री भट्ट
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन सके मात्रै नागरिकले अनुभूत गर्नेगरी सङ्घीयताको कार्यान्वयन हुने बताएका छन्।
नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल सुदूरपश्चिम प्रदेश समितिसँग आज धनगढीमा आयोजित छलफलमा उनले संविधानमा भएका व्यवस्थाको कार्यान्वयन गर्दै आपसी सहकार्यबाट सङ्घीयतालाई सफल बनाउनुपर्नेमा जोड दिए।
“प्रदेशको विकास र समृद्धिका लागि स्थानीय तहसँगको सहकार्य अपरिहार्य छ। स्थानीय तहका समस्या, आवश्यकता र सुझावलाई प्रदेश सरकारले प्राथमिकताका साथ सम्बोधन गर्छ। त्यसका लागि सबै मिलेर अगाडि बढौँ”, मुख्यमन्त्री भट्टले भने।
त्यस अवसरमा सङ्घीयताका जानकार खिमलाल देवकोटाले प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यले शासन प्रणालीलाई सुदृढ बनाउने बताए। उनले स्थानीय तहका आवश्यकता र प्राथमिकतालाई प्रदेश तथा सङ्घीय सरकारका नीति तथा कार्यक्रमसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए।