तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ
काठमाडौँ: प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले ३६७ केजी अवैध लागुपदार्थ–गाँजासहित सोम मगर, दिल्लीराम थारू र कर्णबहादुर तामाङलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना ७ ख ८१७३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरको ढालाभित्र लुकाइछिपाइ राखेको नौ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारेको थियो।
उदयपुरको कटारी नगरपालिका–४ मरूवा खोलाबाट १९९ किलो गाँजासहित सोही वडाको कान्छी बजार बस्ने २१ वर्षीय सोम मगरलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। प्रहरीले चितवनको राप्ती नगरपालिका–१० चिप्लेटीबाट १६८ किलो गाँजासहित दुई जनालाई आज बिहान पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी पूर्व गैँडाकोट नगरपालिका–२ भृकुटीचोक बस्ने मध्यबिन्दु नगरपालिका–७ मिलनचोकका ५१ वर्षीय दिल्लीराम थारू र राप्ती नगरपालिका–१ पिप्ले बस्ने ३६ वर्षीय कर्णबहादुर तामाङ छन्। जिप्रका चितवनबाट खटिएको प्रहरीले बा प्र ०३–०१–०२३ च ५८२८ नम्बरको कार जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक दिल्लीराम र कारमा सवार कर्णबहादुरलाई पक्राउ गरेको हो।