९ बुँदे माग राख्दै नगर स्वयंसेवक शिक्षकले बुझाए ज्ञापनपत्र
बैतडी: बैतडीको पाटन नगरपालिकाका नगर स्वयंसेवक शिक्षकहरूले पारिश्रमिक वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्धता र पोशाक भत्तालगायत ९ बुँदे माग राख्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले आइतबार नगर प्रमुख गौरीसिंह रावलसमक्ष ज्ञापनपत्र बुझाएका हुन्।
नगर स्वयंसेवक शिक्षक समितिका अध्यक्ष राजेन्द्र विष्टले विद्यालयको पठनपाठनमा नगर स्वयंसेवक शिक्षकहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै आफ्नो भूमिकालाई कमजोर नठान्न आग्रह गरे। अन्य शिक्षकको तुलनामा आफूहरूको शैक्षिक भूमिका कमजोर नभए पनि पारिश्रमिकका विषयमा विभेद भइरहेको उनले गुनासो गरे।
नगर स्वयंसेवक शिक्षकहरूको पनि व्यवस्थित अभिलेख राखेर केन्द्रस्तरमा तथ्यांक पठाउनुपर्ने शिक्षक हरिप्रसाद भट्टले बताए। देशभर विभिन्न प्रकृतिका शिक्षक कार्यरत रहे पनि पालिका तहमा कार्यरत शिक्षकहरूको स्पष्ट अभिलेख नरहेको उल्लेख गर्दै उनले नगर स्वयंसेवक शिक्षकहरूको विवरण केन्द्रमा पठाई उनीहरूको औपचारिक पहिचान स्थापित गर्नुपर्ने माग गरे।
भट्टले हाल ‘नगर शिक्षक’ भनिँदै आएको पदलाई ‘नगर अनुदान शिक्षक’ नामकरण गर्नुपर्ने मागसमेत राखे। नगर शिक्षक गोविन्दप्रसाद पन्तले आफूहरूले कुनै राजनीतिक पूर्वाग्रह नराखी शिक्षकको पेशागत हकहितका लागि ज्ञापनपत्र बुझाएको बताए।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख गौरीसिंह रावलले चालु आर्थिक वर्षमा नगर स्वयंसेवक शिक्षकहरूको पारिश्रमिकमा २ हजार ५ सय रुपैयाँ वृद्धि गरिएको जानकारी दिए। सम्भव भएसम्म नगर कार्यपालिका र नगरसभामा सहमति जुटाएर थप पारिश्रमिक वृद्धि गर्न पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।