सुदूर नेपाललाई विश्वसँग जोड्दै

रातभरको खोजतलासपछि हराएकी दुई वर्षीया बालिका सकुशल फेला

२०८३ भदौ ७, ०१:५२ खबर संवाददाता

बाराः कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट शनिबार साँझ हराएकी दुई वर्षीया बालिका रातभरको खोजतलासपछि सकुशल फेला परेकी छन्।

कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोल निवासी मुकेश कुमार मण्डलकी करिब दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे आफ्नै घर अगाडिबाट हराएकी थिइन्।

बालिका हराएको जानकारी उनका हजुरबुवा मदन मण्डलले राति ८ः४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क, बारामा गराएका थिए। जानकारी प्राप्त भएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो।

बालिकाको खोजीका लागि प्रहरीले विभिन्न समूह बनाएर रातभर टोली परिचालन गरेको थियो। खोजी कार्यमा कुकुरसहितको प्रहरी टोलीसमेत परिचालन गरिएको थियो।

प्रहरीको निरन्तर खोजतलासपछि आइतबार बिहान करिब ५ः४५ बजे कलैया उपमहानगरपालिका–२६ सिस्वास्थित बाटोमा बालिकालाई सकुशल फेला पारिएको हो।

फेला परेकी बालिकालाई आवश्यक प्रक्रिया पूरा गरी आइतबार बिहान ११ बजे उनका बुबा मुकेश कुमार मण्डल र हजुरआमा सावित्री मण्डलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस