लोडर दुर्घटनामा १५ वर्षीय बालकको मृत्यु
धनगढीः कैलालीको जानकी गाउँपालिका–७ चिलिम चौराहामा पानी बोक्ने लोडर दुर्घटना हुँदा १५ वर्षीय बालकको मृत्यु भएको छ।
शुक्रबार राति सु.प.प्र.०१–००१ स ५४३९ नम्बरको पानी बोक्ने लोडर अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा लोडरमा सवार टीकापुर नगरपालिका–१ बनगाउँका १५ वर्षीय लक्ष्मण घर्ती मगर गम्भीर घाइते भएका थिए।
घाइते घर्ती मगरलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
लोडरमा चालकसहित चार जना सवार रहेकोमा अन्य तीन जना र दुर्घटनामा परेको लोडरलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।