सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्षको सर्वोच्चमा रिट

२०८३ भदौ ५, ०३:१५ खबर संवाददाता

काठमाडौँः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।

पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट सर्वोच्चमा दर्ता भएको नेता मीन विश्वकर्माले जानकारी दिएका छन्। दुवै नेताका तर्फबाट कानून व्यवसायीले सर्वोच्च अदालत पुगेर रिट दर्ता गरेका हुन्।

देउवा पक्षले असोजमा महाधिवेशन गर्ने गरी नेपाली काँग्रेसले अघि बढाएको कार्यतालिका रोक्न माग गरेको छ। पार्टीको आधिकारिता विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइ गर्न निस्सा दिइसकेको अवस्थामा उक्त विवादको टुंगो नलाग्दासम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नहुने देउवा पक्षको तर्क छ।

नेपाली काँग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर, महाधिवेशनको नेतृत्व र प्रक्रियालाई लिएर पार्टीभित्र विवाद कायमै छ।

यसैबीच इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

देउवा पक्षले दायर गरेको रिटपछि अब सर्वोच्च अदालतको निर्णयले काँग्रेसको १५औँ महाधिवेशनको आगामी प्रक्रिया प्रभावित हुने सम्भावना देखिएको छ।

कमेन्ट लोड गर्नुस