जापानिज इन्सेफलाइटिस के हो? कैलालीमा २ जनाको मृत्यु, ७ जनामा संक्रमण
कैलालीमा जापानिज इन्सेफलाइटिसको संक्रमणले दुई जनाको मृत्यु र सात व्यक्तिमा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका प्रमुखले लामखुट्टे नियन्त्रण, सरसफाइ, र घरपालुवा जनावर व्यवस्थापनले रोगको जोखिम कम गर्न मद्दत गर्ने बताए।
इन्सेफलाइटिसको खोपबाट बालबालिकाहरूलाई सुरक्षा दिइने, र छुटेका बालबालिकालाई पाँच वर्षसम्म खोप लगाउन सकिने व्यवस्था छ। धनगढी– कैलालीमा जापानिज इन्सेफलाइटिसको संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। यसबाहेक थप सात जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाका तीन जना, घोडाघोडी नगरपालिकाका दुई जना र लम्कीचुहा नगरपालिकाका दुई जनामा जापानिज इन्सेफलाइटिस देखिएको हो। त्यस्तै, घोडाघोडी नगरपालिकाका दुई जना संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यसले मुख्यतः मस्तिष्कमा असर गर्ने भएकाले संक्रमितमध्ये गम्भीर अवस्था निम्तिन सक्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए।
कार्यालय प्रमुख कुँवरले भने, ‘यो जनावर र लामखुट्टेबीचको रोग हो। संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि भाइरस शरीरमा प्रवेश गर्छ। त्यसपछि मुख्यतः मस्तिष्कसँग सम्बन्धित गम्भीर समस्या आउन सक्छ।’
उनका अनुसार जापानिज इन्सेफलाइटिस मानिसबाट मानिसमा सर्दैन। संक्रमण भएका सबै व्यक्तिमा लक्षण देखिन्छ भन्ने हुँदैन। केहीमा कुनै लक्षण नदेखिए पनि लक्षण देखिने संक्रमितमा भने अवस्था गम्भीर हुन सक्ने उनले बताए।
उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर कमजोर हुने, शरीरमा कम्पन हुने तथा घाँटीमा असहजता हुने यसका प्रमुख लक्षण हुन्।
रोगबाट बच्न लामखुट्टे नियन्त्रण र सरसफाइमा विशेष ध्यान दिनुपर्ने कुँवरले बताए। उनका अनुसार घरका झ्यालढोकामा जाली लगाउने, घरवरिपरि पानी जम्न नदिने र पूरा बाहुला भएका कपडा लगाउने गर्नुपर्छ।
जापानिज इन्सेफलाइटिस सुगुर, बंगुर तथा चराचुरुङ्गी र लामखुट्टेबीचको संक्रमण चक्रसँग सम्बन्धित भएकाले घरमा सुगुर वा बंगुर पाल्ने भए बस्ती तथा घरबाट केही दूरीमा व्यवस्थित रूपमा पाल्नुपर्ने उनले बताए। हाँस तथा कुखुरा पनि व्यवस्थित तरिकाले पाल्दा संक्रमणको जोखिम कम गर्न सकिने उनको भनाइ छ।
जापानिज इन्सेफलाइटिसको शंका लागेमा समुदायस्तरमा आवश्यक नियन्त्रण तथा व्यवस्थापनको काम स्थानीय तहले गर्ने कुँवरले बताए। संक्रमण भए–नभएको यकिन गर्न प्रयोगशाला परीक्षण आवश्यक पर्ने भएकाले त्यसको परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट हुने उनले जानकारी दिए।
‘यसमा केही अनुसन्धान पनि गर्नुपर्ने हुन्छ। त्यसका लागि विश्व स्वास्थ्य संगठनको टोली र सम्बन्धित निकायका व्यक्तिहरूले केस देखिएको स्थानको विस्तृत जानकारी लिने तथा आवश्यक सहयोग गर्ने गर्छन्,’ उनले भने।
सरकारले जापानिज इन्सेफलाइटिसविरुद्धको खोपको व्यवस्था गरेको कुँवरले बताए। उनका अनुसार बालबालिकालाई निर्धारित उमेरमा खोप लगाउने गरिन्छ। छुटेका बालबालिकालाई पाँच वर्षसम्म खोप लगाउन सकिने व्यवस्था रहेको उनले बताए।
यस वर्ष कैलालीमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारीसमेत भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।