सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने

२०८३ भदौ १, ०२:५० खबर संवाददाता

काठमाण्डौ: सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजो बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले रोल्पाको थवाङ र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो ।

कमाण्ड पोष्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली तीन दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ । टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसमेत सहभागी हुनेछन् ।

मनसुनजन्य विपद्का कारण विभिन्न जिल्लामा जनधनको क्षति बढिरहेका बेला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

ती जिल्लामा पहिरोबाट भएको क्षतिप्रति गम्भीर चासो व्यक्त गर्दै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ ।

बैठकले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ अनुसार प्रारम्भिक द्रुत लेखाजोखाका आधारमा प्रभावित परिवारलाई नगद वा वस्तुगत राहत, मृतक राहत तथा घाइतेको निःशुल्क उपचार उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन, जिल्ला विपद् व्यवस्थापन समिति र पालिकालाई अनुरोध गरेको छ ।

त्यस्तै, विपद्बाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापनाको अनुदान प्रक्रिया तत्काल अघि बढाउन पनि निर्देशन दिइएको छ ।

कमेन्ट लोड गर्नुस