सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘चुनाव हार्दैमा मैदान छोड्ने पार्टी होइन एमाले’:ओली 

२०८३ भदौ १, १२:१६ खबर संवाददाता

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण तथा मौलिक संस्कृति र सभ्यताको संरक्षणका लागि एमाले अविचलित रूपमा अघि बढ्ने बताएका छन्।

झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै ओलीले देशमा भइरहेका गलत क्रियाकलापको प्रतिवाद गर्न नागरिक सचेत हुनुपर्नेमा जोड दिए। देशलाई सही दिशामा अघि बढाउने जिम्मेवारी सबै नेपालीको भएको उनको भनाइ थियो।

उनले मुलुकमा शान्ति स्थापना, लोकतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। देशको संस्कार, सभ्यता र संस्कृतिको संरक्षण गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने जिम्मेवारी पनि एमालेको काँधमा रहेको उनले उल्लेख गरे।

गत निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई स्वाभाविक रूपमा लिन कार्यकर्तालाई आग्रह गर्दै ओलीले हारबाट निराश नहुन आग्रह गरे। चुनावमा नराम्रो पराजय भए पनि त्यसकै कारण पार्टीले मैदान नछोड्ने उनको भनाइ थियो।

‘कुस्तीमा एकपटक पछारिँदैमा अखडा छोडेर भागिँदैन, जुरुक्क उठेर फेरि सामना गर्नुपर्छ,’ ओलीले भने, ‘नेकपा एमाले पनि त्यही गर्छ। यो भगौडा पार्टी होइन, परिस्थितिको सामना गर्ने, चुनौतीसँग जुध्ने र निरन्तर अगाडि बढ्ने पार्टी हो।’

ओलीले चुनौतीपूर्ण परिस्थितिको सामना गर्न एमाले सक्षम रहेको दाबी गर्दै पार्टीलाई थप सक्रिय र जागरुक बनाएर अघि बढ्नुपर्ने बताए। देशलाई गलत बाटोमा जान नदिन सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै उनले संविधान, लोकतन्त्र र राष्ट्रिय संस्कृतिको संरक्षण गर्दै मुलुकलाई सही दिशामा अघि बढाउन एमालेले भूमिका खेल्ने स्पष्ट पारे।
 

कमेन्ट लोड गर्नुस