कांग्रेस संस्थापनइतर समूहको बन्दसत्रमा विभिन्न प्रतिवेदन र प्रस्ताव पेश
काठमाडौं: नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलाको बन्दसत्रमा विभिन्न प्रतिवेदन तथा प्रस्ताव छलफलका लागि पेश गरिएका छन्।
काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी राष्ट्रिय भेलाको बन्दसत्रमा विधान संशोधनलगायत विभिन्न विषयमा प्रस्ताव पेश गरिएको हो।
बैठकमा कांग्रेस नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रतिवेदनमा पुस्तान्तरणका नाममा पार्टीका हरेक आन्दोलन र चरणमा योगदान दिएका नेताकार्यकर्तालाई विधि विपरीत अपमानित गर्ने काम भएको उल्लेख गरिएको छ।
त्यस्तै, १५औँ महाधिवेशनका लागि निर्धारित समयभित्रै क्रियाशील सदस्यता नवीकरण गरिसकेका सदस्यलाई समेत पुनः अद्यावधिक गर्न दबाब दिनु अनुचित रहेको निधिको प्रतिवेदनमा उल्लेख छ।
कांग्रेस नेता रमेश लेखकले विधान संशोधनका लागि अवधारणापत्र प्रस्तुत गर्दै सामान्यतया एक व्यक्ति एकपटकमा एक पदमा मात्र जिम्मेवारीमा रहन सक्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।
उहाँले केन्द्रीय महाधिवेशनको कार्यकाल सकिन ६ महिनाभन्दा कम अवधि बाँकी रहेको अवस्थामा, राष्ट्रिय निर्वाचन हुन ६ महिना वा सोभन्दा कम अवधि बाँकी रहेको अवस्थामा तथा पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशन गर्न नहुने व्यवस्था प्रस्ताव गरेका छन्।
बैठकमा कांग्रेस नेता डा. प्रकाशशरण महतले पार्टीको आर्थिक तथा सामाजिक नीतिको कार्यदिशासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको छ भने एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन्।
बन्दसत्रमा प्रस्तुत प्रतिवेदन तथा प्रस्तावमाथि छलफल गरी आइतबार आवश्यक निर्णयसहित पारित गरिने कांग्रेस नेता मोहन बस्नेतले जानकारी दिए।
उनले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने प्रक्रियामै त्रुटि रहेको दाबी गरे। केन्द्रीय कार्यसमितिको निर्णयबिना सभापति वा महामन्त्रीले मात्र चाहेर विशेष महाधिवेशन बोलाउन वा प्रस्ताव पारित गर्न नसकिने उनको तर्क छ।