सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज राना थारु महिलाको तीज, धनगढीमा स्थानीय सार्वजनिक बिदा

२०८३ साउन ३०, ०८:४६ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरका राना थारु समुदायका महिलाहरूले आज परम्परागत रूपमा तीज पर्व मनाउँदैछन्। राना थारु समुदायका महिलाहरूले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व यस वर्ष साउन ३० गते परेको हो।

राना थारु समुदायमा तीजलाई महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा लिइन्छ। यो पर्वले दिदीबहिनी तथा दाजुभाइ–भतिजाबीचको आत्मीयता, भ्रातृत्व र पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिन्छ।

किम्बदन्तीअनुसार परम्परागत समयमा राना थारु समुदायमा बिरामी फैलिँदा घरका कमाउने व्यक्तिको मृत्यु हुने र त्यसका कारण परिवारमा गरिबी बढ्ने गरेको थियो। त्यसपछि दिदीबहिनीहरूले भगवान् श्रीकृष्णको पूजाअर्चना गरेपछि समाजबाट दुःख, पीडा र गरिबी हटेको विश्वासमा सोही दिनदेखि तीज पर्व मनाउन थालिएको मान्यता छ।

सांस्कृतिक, सामाजिक तथा भ्रातृत्व प्रेमले ओतप्रोत यस पर्वमा दिदीबहिनीहरूले दाजुभाइ तथा भतिजाको दीर्घायु र सुख–समृद्धिको कामना गर्दै पानीसमेत नखाई व्रत बस्ने चलन छ।

राना थारु समुदायमा तीजको छुट्टै सामाजिक परम्परा पनि रहेको छ। तीज आउनुभन्दा करिब १५ दिनअघि नै दाजुभाइहरू दिदीबहिनीको घरमा पुगेर निम्ता दिने र उनीहरूलाई माइतीमा बोलाएर ल्याउने चलन छ। त्यस्तै, तीजको आगमनसँगै दाजुभाइहरूले दिदीबहिनीका लागि सार्वजनिक स्थान, बगैँचा तथा सामूहिक रूपमा भेला हुने स्थानमा डोला (पिङ) राख्ने परम्परा पनि छ।

धनगढीमा स्थानीय सार्वजनिक बिदा
राना थारु समुदायका महिलाहरूले मनाउने तीज पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले स्थानीय सार्वजनिक बिदा दिएको छ।

धनगढी उपमहानगरपालिका नगर कार्यपालिकाको निर्णयअनुसार साउन ३० गते एक दिन धनगढी उपमहानगरपालिका क्षेत्रभित्र स्थानीय सार्वजनिक बिदा दिइएको हो।

उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार साउन ३० गते धनगढी क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था तथा संघ–संस्थामा स्थानीय सार्वजनिक बिदा लागू हुनेछ।

राना थारु समुदायको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको तीज पर्वको संरक्षण, प्रवर्द्धन तथा सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।

कमेन्ट लोड गर्नुस