सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा

२०८३ साउन २७, १२:५६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने तयारी गरेका छन्। प्रदेशसभामा बहुमत जुटाउने आधार नदेखिएपछि मुख्यमन्त्री शाहले बिहीवार राजीनामा दिने तयारी गरेका हुन्।

नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि गत ३१ असारदेखि शाह नेतृत्वको सरकार अल्पमतमा छ। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने समयसीमा २८ साउन अर्थात् बिहीवारसम्म रहेको छ।

मुख्यमन्त्रीको राजीनामालगायतका विषयमा छलफल गर्न नेपाली काँग्रेस संसदीय दलको बैठक बुधवार दिउँसो २ बजे बोलाइएको छ।

सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ। काँग्रेससँग १८ सांसद छन् भने नेकपा (एमाले)सँग ११ र नेकपासँग २१ सांसद छन्। नेकपाका एक सांसद निलम्बित छन्।

एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भइसकेकाले शाहले विश्वासको मत पाउने सम्भावना न्यून रहेको छ।

नयाँ सत्ता समीकरणअनुसार नेकपा संसदीय दलका नेता खगराज भट्टलाई सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ।

कमेन्ट लोड गर्नुस