गाँजा तस्करीको नयाँ शैलीको खुलासा, १८ किलो गाँजासहित दुई भारतीय पक्राउ
काठमाडौँः लागूऔषध नियन्त्रण ब्युरोले थाई गाँजा तस्करीको नयाँ शैली खुलासा गर्दै १८ किलो लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
हवाई मार्ग हुँदै नेपाल आउने विदेशी यात्रुको निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा ब्युरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
ब्युरोका अनुसार गत २६ साउन राति क्याथे प्यासिफिकको उडानमार्फत थाइल्यान्डको बैंककबाट नेपाल आएका भारतीय नागरिक सञ्जीव कुमार र रवि कुमारले साथमा ल्याएको लागू औषध गाँजा लगेजमा लुकाएर ल्याएका थिए। उनीहरू आगमनतर्फको भन्सार एरियामा लुकीछिपी बाहिरिने क्रममा पक्राउ परेका हुन्।
पक्राउ परेका दुवै जनाबाट १८ किलो गाँजा बरामद भएको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ। पक्राउ पर्नेमा भारत पञ्जाब ठेगाना भएका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्।
ब्युरोका अनुसार थाइल्यान्डबाट गाँजा ल्याउने भारतीय नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि पक्राउबाट बच्न आगमनतर्फको भन्सार एरियामा लुकेर जाने र केही दिनपछि नेपाली एजेन्टमार्फत गाँजा लैजाने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनीहरूको साथबाट १८ किलो लागू औषध गाँजासहित दुई थान पासपोर्ट, दुई थान मोबाइल फोन र चार थान झोला बरामद गरेको छ।
ब्युरोले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।