दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवको परिवारको सम्पत्ति अनुसन्धानमा अख्तियार
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव तथा उनीहरूका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ।
अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा स्वकीय सचिव रहेका भानु देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव रहेकी उनकी छोरी गंगा दाहालको परिवारको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको हो।
अख्तियारसम्बद्ध उच्च स्रोतका अनुसार भानु देउवाको सम्पत्तिको विस्तृत अनुसन्धानका लागि आवश्यक विवरणसहितको फारम भराइसकिएको छ। आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान अधिकृत तोकेर उनको परिवारका नाममा रहेको सम्पत्तिको छानबिन अघि बढाइएको हो।
अनुसन्धानका क्रममा भानुको बैंक खाता, जग्गा तथा शेयरलगायत सम्पत्तिको विवरण संकलन भइरहेको अख्तियारसम्बद्ध स्रोतले जनाएको छ।
त्यस्तै, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कार्यकालमा स्वकीय सचिव रहेकी गंगा दाहाल र उनका पति जीवन आचार्यको परिवारको सम्पत्तिमाथि पनि अख्तियारले अनुसन्धान अघि बढाएको छ। आचार्य कोशी प्रदेशसभाका सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री हुन्।
अख्तियारसम्बद्ध स्रोतका अनुसार परिवारका सदस्यको सम्पत्ति अनुसन्धानका क्रममा उनीहरू पनि अनुसन्धानको दायरामा आएका हुन्। गंगा दाहाल र जीवन आचार्यको सम्पत्ति अनुसन्धान भानु देउवाको तुलनामा केही अगाडि बढेको र केही सम्पत्तिको स्रोत खुलाउन थप विवरण माग्ने काम भइरहेको स्रोतले जनाएको छ।
यसअघि अख्तियारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्तिमाथि पनि अनुसन्धान सुरु गरेको थियो। बज्राचार्यलाई अख्तियारको टंगालस्थित कार्यालयमा बोलाएर सम्पत्ति विवरण भराइएको थियो।