सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुरक्षित आप्रवासन कार्यक्रमले बदल्दैछ वैदेशिक राेजगारसंग जाेडिएका परिवारकाे साेच र व्यवहार

२०८३ साउन २५, ०३:१२ जयन्त सिंह भाट

धनगढीः कैलालीमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ५ सय ५५ जनाले सूचना तथा परामर्श सेवा लिएका छन् । वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सूचना तथा परामर्शदेखि विदेशमा पुगेपछि समस्या परेका व्यक्तिको उद्धार, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र परिवारलाई वित्तीय साक्षरतासम्मका सेवा कार्यक्रममार्फत प्रदान हुँदै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलाली स्थित आप्रवासी स्रोत केन्द्र र टीकापुरस्थित उपकेन्द्रबाट प्रवाह गरिएको सेवाबाट ३ हजार ७ सय ४३ महिला र ७ हजार ८ सय १२ पुरुष लाभान्वित भएका हुन् । 

कार्यक्रमअन्तर्गत समुदायस्तरमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अभिमुखीकरणमार्फत ३ हजार ९ सय ३४ जनालाई सूचना दिइएको छ । त्यस्तै, रिटर्नी स्वयंसेवक परिचालन गरी घरदैलोमा पुगेर ६ हजार ७ सय ४४ जनालाई सूचना तथा परामर्श सेवा दिइएको प्रगति विवरणमा उल्लेख छ । 

सामी कार्यक्रमका कैलाली जिल्ला कार्यक्रम संयोजक विष्णु प्रसाद चौधरीका अनुसार वैदेशिक रोजगारीमा जानुअघि नागरिकलाई सही सूचना उपलब्ध गराउनेदेखि विदेशमा पुगेपछि समस्या परेकालाई आवश्यक सहजीकरण गर्ने काम कार्यक्रमले गरिरहेको छ ।

“वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित र उपलब्धिमूलक बनाउनु नै सामी कार्यक्रमको उद्देश्य हो,” चौधरीले भने, “वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई आवश्यक सूचना तथा परामर्श दिने र समस्यामा परेकालाई न्यायमा पहुँचका लागि सहजीकरण गर्ने काम भइरहेको छ ।”

उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र वैदेशिक रोजगारीमा जान चाहने नागरिकका लागि प्रारम्भिक सूचना र परामर्शको महत्वपूर्ण केन्द्र बनेको छ । राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुग्ने नागरिकलाई समेत उनीहरूको वैदेशिक रोजगारीसम्बन्धी योजनाअनुसार आवश्यक जानकारी र परामर्श दिने गरिएको छ ।

“पासपोर्ट बनाउन आउने दाजुभाइ तथा दिदीबहिनीलाई पनि वैदेशिक रोजगारीमा जाने उद्देश्यअनुसार आवश्यक सूचना र परामर्श दिने गरिएको छ,” चौधरीले भने ।

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका, रोजगारदाता वा म्यानपावर कम्पनीबाट समस्या भोगेका तथा अन्य कारणले संकटमा परेका व्यक्तिलाई पनि स्रोत केन्द्रमार्फत सम्बन्धित निकायसँग समन्वय गरी सहजीकरण गरिँदै आएको उनले बताए ।

“व्यक्तिगत ठगी भएको अवस्थामा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर समाधानको प्रयास हुन्छ । त्यहाँबाट समाधान हुन नसकेका केस वैदेशिक रोजगार ठगीका उजुरीको मेलमिलाप सम्बन्धि कार्यविधि २०८० मा भएको व्यवस्था अनुसार ७ दिन भित्र प्रमुख जिल्ला अधिकारीले वैदेशिक रोजगार विभागमा पठाउने गरिएको छ,” चौधरीले भने, “म्यानपावर कम्पनीबाट ठगी भएको अवस्थामा पनि आवश्यक प्रक्रिया पूरा गरेर विभागमा पठाउने काम भइरहेको छ ।”

गत आर्थिक वर्षमा कैलालीमा वैदेशिक रोजगारीसँग सम्बन्धित ९० वटा समस्या दर्ता भएका छन् । तीमध्ये ५७ वटा समाधान भएका छन् । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका २८ वटा केसमध्ये १४ जनाले ३४ लाख ४० हजार रुपैयाँ ठगी गर्ने व्यक्तिबाट फिर्ता पाएका छन् । 

प्रगति विवरणअनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका सात परिवारले वैदेशिक रोजगार बोर्ड, बीमा तथा अन्य सरोकारवाला निकायबाट स्थानीय तहमा रहेको रोजगार सीप तथा उद्धमशिलता केन्द्र र आप्रवासी स्राेत केन्द्र/ उपकेन्द्रको सहजीकरणबाट २ करोड ३५ लाख ४७ हजार ५२७ रुपैयाँ आर्थिक सहायता पाएका छन् । स्वास्थ्य समस्या भएका सात जनाले ४ लाख ९७ हजार रुपैयाँ आर्थिक सहायता प्राप्त गरेका छन् । 

विदेशमा समस्या परेपछि परिवारमा पर्ने मानसिक असरलाई समेत सामी कार्यक्रमले प्राथमिकतामा राखेको छ । वैदेशिक रोजगारीका कारण परिवारबाट टाढिनुपर्ने, लामो समयसम्म सम्पर्कविहीन हुने, बिरामी पर्ने, मृत्यु हुने वा अन्य समस्यामा पर्ने घटनाले विदेशमा रहेका व्यक्ति मात्र नभई नेपालमा रहेका परिवारका सदस्यलाई समेत मानसिक तनाव हुने गरेको कार्यक्रमका अधिकारीहरू बताउँछन् ।

आर्थिक वर्ष २०८२/८३ मा कैलालीमा १८२ जनाले व्यक्तिगत मनोसामाजिक परामर्श सेवा लिएका छन् । तीमध्ये १६२ महिला र २० पुरुष छन् । 

धनगढी उपमहानगरपालिका–१८ फूलबारीका रविन्द्र सुबेदी वैदेशिक रोजगारीमा गएको केही समयपछि बिरामी परेका थिए । बिरामी भएपछि लामो समयसम्म उनको परिवारसँग सम्पर्क टुट्यो । श्रीमानकाे अवस्थाबारे जानकारी नपाएपछि उनकी श्रीमती बास्मती चौधरी सुबेदी चिन्तित हुन थालिन् ।

सम्पर्कविहीन श्रीमानको अवस्थाबारे जानकारी नहुँदा बास्मतीको मानसिक तनाव बढ्दै गयो र उनको दैनिक जीवनसमेत प्रभावित भयो । पछि सामी कार्यक्रमको माध्यमबाट रविन्द्रलाई नेपाल ल्याउन सहजीकरण गरिएको थियो । रविन्द्र र उनकी श्रीमती दुवैलाई मनोसामाजिक परामर्श दिइएको र अहिले उनीहरूको अवस्था सामान्य हुँदै गएको बासमती बताउँछिन्। 

त्यसैगरी घोडाघोडी नगरपालिकाकी अस्मिता आग्रीको कथा पनि वैदेशिक रोजगारीसँग जोडिएको अर्को पीडादायी घटना हो । उनका श्रीमान् रोजगारीका लागि साउदी अरब गएका थिए । करिब छ वर्ष काम गरेर घर फर्किएका उनी परिवारसँग सामान्य जीवन बिताइरहेका थिए । पछि फेरि रोजगारीका लागि विदेश गए ।

तर दोस्रोपटक विदेश गएको करिब चार वर्षपछि उनका श्रीमानकाे साउदी अरबमै मृत्यु भयो । श्रीमान्को निधनपछि मानसिक रूपमा विक्षिप्त बनेकी अस्मिता अहिले सामी कार्यक्रमअन्तर्गत मनोसामाजिक परामर्श लिइरहेकी छन् ।

“श्रीमानकाे निधन भएपछि मलाई दैनिक चिन्ता हुन्थ्याे तर मनाेसामाजिक परामर्श लिएर पछिल्लो समय जीवन सहज महसुस हुन थालेको छ,” अस्मिताले भनिन् ।

सामी कार्यक्रमले वैदेशिक रोजगारीमा जानुअघि मात्र नभई विदेशबाट फर्किएपछि पनि आवश्यक सहयोग गर्दै आएको छ । समस्यामा परेका व्यक्ति तथा परिवारलाई पुनःस्थापना, मनोसामाजिक परामर्श, न्यायमा पहुँच तथा उद्यमशीलतासँग जोड्ने प्रयास भइरहेको छ ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाका अनुसार सामी कार्यक्रमले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सही सूचना दिने मात्र नभई समस्यामा परेका परिवारलाई पुनःस्थापना र आत्मनिर्भर बनाउन पनि सहयोग गरिरहेको छ ।

“सबैभन्दा ठूलो कुरा जनचेतना नै हो । सही सूचना प्राप्त गरियो र सूचना बुझियो भने नागरिक समस्यामा पर्दैन, त्यसैले हामी समुदाय स्तरमै सुचना पुर्याउन जोड दिईरहेका छौँ” रानाले भनिन् ।

उनका अनुसार वैदेशिक रोजगारीमा जाने व्यक्तिको कागजातको अभिलेखीकरणदेखि समस्या परेपछि उद्धार र न्यायमा पहुँचका लागि समेत स्थानीय तह, जिल्ला प्रशासन र सामी कार्यक्रमबीच समन्वय भइरहेको छ ।

“परियोजनाको अवधि सकिए पनि धनगढी उपमहानगरपालिकाले अपनत्व लिएर यो काम रोकिँदैन,” रानाले भनिन् ।

वित्तीय साक्षरतामा जोड

सामी कार्यक्रमले वैदेशिक रोजगारीबाट आएको रकमको सही व्यवस्थापनका लागि वित्तीय साक्षरता कक्षासमेत सञ्चालन गर्दै आएको छ । विदेशबाट आएको रकमलाई घरखर्चमा मात्र सीमित नगरी बचत तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने उद्देश्यले परिवारका सदस्यलाई वित्तीय शिक्षा दिइँदै आएको हो ।

आर्थिक वर्ष २०८२/८३ मा १ हजार ६ सय ९९ जनाले वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्शसम्बन्धी कार्यक्रममा सहभागिता जनाएका छन् । सहभागीमध्ये १ हजार ४ सय १२ महिला र २ सय ८७ पुरुष छन् । 

धनगढी उपमहानगरपालिका–११ की बिमला रानासहित पाँच जना महिलाले मिलेर अहिले दुना–टपरी उद्योग सञ्चालन गरिरहेका छन् । घरायसी कामकाजमा सीमित रहँदै आएका उनीहरूलाई सामी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षाले समूह बनाएर आयआर्जनको काममा जोडिन प्रेरित गरेको हो ।

वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि बचत गर्ने, आम्दानीको व्यवस्थापन गर्ने र उपलब्ध स्रोतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने विषयमा जानकारी पाएपछि उनीहरूले मिलेर दुना–टपरी उद्योग सञ्चालन गर्ने योजना बनाएका थिए । अहिले पाँचै जना महिला मिलेर स्थानीयस्तरमा उपलब्ध सालका पातलगायतका सामग्री प्रयोग गरी दुना–टपरी उत्पादन गर्दै आएका छन् ।

धनगढी उपमहानगरपालिका–१३ कालिका टोलकी बसन्ती जोशीले वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि विदेशबाट आएको रकमको व्यवस्थापन गर्ने तरिका सिकिन् । उनका छोरा विदेशमा छन् र बेला–बेला पैसा पठाउने गर्छन् । अहिले उनले विदेशबाट आएको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै बाख्रापालनसँगै सडकछेउमा नाङ्लो पसल सञ्चालन गरिरहेकी छन् ।

धनगढी उपमहानगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख टङ्क विष्टका अनुसार वित्तीय साक्षरताले वैदेशिक रोजगारीसँग जोडिएका परिवारलाई विदेशबाट आएको रकमको सही व्यवस्थापन गर्न सहयोग गरेको छ ।

“विदेशबाट आएको पैसा खाने र खर्च गर्ने मात्रै होइन, त्यसबाट अतिरिक्त आम्दानी कसरी गर्ने भन्ने सोचको विकास भएको छ,” विष्टले भने ।

उनका अनुसार सामी कार्यक्रमसँग जोडिएका कतिपय परिवारले तरकारी खेती, कुखुरापालन, ठेला व्यवसाय तथा अन्य साना उद्यम सञ्चालन गर्न थालेका छन् ।

“अहिले धेरै परिवारले विदेशबाट आएको पैसा बचत गर्ने र त्यसबाट अतिरिक्त आम्दानी गर्ने सोच विकास गरेका छन्,” उनले भने ।

चार स्थानीय तहमा २०१ जनामा व्यवहार परिवर्तन

सामी कार्यक्रमको २१ हप्ते वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्शसम्बन्धी विवरणमा धनगढी उपमहानगरपालिका, घोडाघोडी, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका २०१सहभागीमा विभिन्न सूचकमा व्यवहार परिवर्तन देखिएको उल्लेख छ ।

धनगढीमा ५०, घोडाघोडीमा ५०, टीकापुरमा ५० र जानकीमा ५१ जना सहभागी भएका थिए । तीमध्ये क्रमशः ४९, ३७, ५० र ४७ जनाको बचत वृद्धि भएको देखिएको छ ।

त्यस्तै, आम्दानी तथा खर्चको लेखाजोखा गर्नेको संख्या धनगढीमा ४९, घोडाघोडीमा २९, टीकापुरमा ४७ र जानकीमा ४७ रहेको छ ।

व्यवसाय सुरु गर्नेमा धनगढीका ३, घोडाघोडीका ३, टीकापुरका २ र जानकीका ७ जना छन् । व्यवसाय विस्तार गर्नेको संख्या क्रमशः ३, २८, २ र १२ रहेको विवरणमा उल्लेख छ ।

वित्तीय संस्थामा पहुँच पुगेका सहभागीको संख्या धनगढीमा ९, घोडाघोडीमा ७, टीकापुरमा १८ र जानकीमा ५ रहेको छ ।

धनगढी उपमहानगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख विष्टका अनुसार कार्यक्रमको प्रभाव पछिल्लो समय परिवारको व्यवहार र सोचमा समेत देखिन थालेको छ ।

“सुरुवातको तुलनामा अहिले वैदेशिक रोजगारीमा जाने परिवारहरू धेरै सचेत भएको हामी पाउँछौँ । यसले कार्यक्रमले आफ्नो प्रभाव छोडेको देखिन्छ,” विष्टले भने ।

उनका अनुसार वैदेशिक रोजगारीलाई रोक्नेभन्दा त्यसलाई सुरक्षित र व्यवस्थित बनाउनु आवश्यक छ । स्वदेशमा पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारी धेरै परिवारको बाध्यता रहेको उनको भनाइ छ ।

“वैदेशिक रोजगारमा जानु हुँदैन भनेर मात्र हुँदैन । त्यसका लागि यहाँ रोजगारी दिन सक्नुपर्छ,” विष्टले भने ।

उनका अनुसार विदेशबाट आएको रकमको सही व्यवस्थापनसँगै केही परिवारले आफ्नै ठाउँमा व्यवसाय सुरु गर्ने गरेका छन् । विदेशमा रहेका परिवारका सदस्य फर्किएपछि स्वदेशमै व्यवसाय सञ्चालन गर्ने उदाहरणसमेत रहेको उनले बताए ।

“विदेशबाट पैसा आउँछ, खाने–खर्च गर्ने भन्ने सोच अहिले विस्तारै परिवर्तन हुँदै गएको छ । यहीँ कमाएर आर्थिक अवस्था सुधार्नुपर्छ भन्ने सोचको विकास भएको छ,” विष्टले भने ।

सामी कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक बिष्णु चौधरीका अनुसार कार्यक्रमअन्तर्गत सूचना तथा परामर्श, न्यायमा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श र सीप विकाससँग सम्बन्धित पाँच क्षेत्रमा काम भइरहेको छ ।

उनका अनुसार सामी कार्यक्रमले प्रत्यक्ष रूपमा सीप विकास तालिम सञ्चालन नगरे पनि स्थानीय तह तथा विभिन्न संघसंस्थाले सञ्चालन गर्ने सीप विकास तालिमबारे वैदेशिक रोजगारीसँग जोडिएका इच्छुक व्यक्तिलाई जानकारी दिने गरिएको छ ।

नेपाल सरकार र स्विस सरकारबीचको द्विपक्षीय सम्झौताअनुसार सञ्चालन हुँदै आएको सामी कार्यक्रमले वैदेशिक रोजगारीमा जानुअघि सही सूचना उपलब्ध गराउने, ठगी तथा जोखिमबाट जोगाउने, विदेशमा समस्या परेकालाई उद्धार तथा न्यायमा पहुँच दिलाउने र फर्किएका व्यक्ति तथा परिवारलाई पुनःस्थापना तथा आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यले काम गरिरहेको छ।
 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस