म तर्साएर तर्सिने मान्छे होइन : गगन थापा
काठमाडौँ: नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको आगामी १५औँ महाधिवेशनलाई सर्वसमावेशी बनाउनुपर्नेमा जोड दिएका छन्। उनले महाधिवेशनमा सबै तह र तप्काका नेता तथा कार्यकर्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताए।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले महाधिवेशनका लागि समावेशी र सहज वातावरण निर्माण गर्न आफू पूर्ण रूपमा सचेत रहेको बताए।
‘१५औँ महाधिवेशनमा सबैको सहभागिता हुनुपर्छ र यसका लागि वातावरण बनाउन म पूर्ण रूपमा सचेत छु,’ उनले भने।
पार्टी विधानका विषयमा आफू स्पष्ट रहेको उल्लेख गर्दै थापाले विधानको मर्म र व्यवस्थाअनुसार नै कांग्रेस अघि बढ्नुपर्ने धारणा राखे। उनले विधानको अक्षरशः पालना गर्न आफू प्रतिबद्ध रहेको बताए।
बैठकमा थापाले आफूलाई कुनै पनि प्रकारको धम्की वा दबाबले आफ्नो अडानबाट पछि हटाउन नसक्ने स्पष्ट पारे। कडा शैलीमा प्रस्तुत भएका उनले भने, ‘म तर्साएर तर्सिन्न, थर्काएर थर्किन्न। यो कुरा सबैलाई जानकारी होस्।’
आफू पार्टी सुधार र आफ्ना एजेन्डाप्रति अडिग रहेको उल्लेख गर्दै थापाले महाधिवेशनलाई व्यवस्थित, समावेशी र सहभागितामूलक बनाउनुपर्नेमा जोड दिए।