सेती अस्पतालका डा.पाण्डे निजीको शल्यक्रियामा संलग्न, छात्रवृत्ति करारको नियममाथि प्रश्न
धनगढीः सेती प्रादेशिक अस्पतालमा नेपाल सरकारको छात्रवृत्ति करार सेवामा कार्यरत युरोलोजिष्ट डा. अरुण पाण्डे निजी क्षेत्रबाट सञ्चालित केजी हस्पिटलमा शल्यक्रियामा संलग्न भएको पाइएको छ। केजी हस्पिटलमा मृगौलाको शल्यक्रियापछि एक महिलाको मृत्यु भएपछि डा. पाण्डेको निजी अस्पतालमा संलग्नताबारे प्रश्न उठेको हो।
मृतक महिलाको शल्यक्रिया डा. पाण्डेसहितको चिकित्सकीय समूहले गरेको बताइएको छ। डा. पाण्डे १७ चैत २०८१ देखि सेती प्रादेशिक अस्पतालमा नेपाल सरकारको छात्रवृत्ति करार सेवामा कार्यरत छन्। उनको करार अवधि आगामी चैत १६ गतेसम्म रहेको छ।
सरकारी छात्रवृत्ति करार सेवामा कार्यरत विशेषज्ञ चिकित्सकले करार अवधिभर निजी स्वास्थ्य संस्थामा चिकित्सकीय सेवा दिन नपाउने व्यवस्था छ। ‘सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२’ मा यस्तो व्यवस्था गरिएको छ।
यही व्यवस्थाका बीच डा. पाण्डे निजी अस्पतालमा मृगौलाको शल्यक्रियामा संलग्न भएको विषयले सरकारी छात्रवृत्ति करार सेवाको नियम पालनाबारे प्रश्न उठाएको हो। चौधरीको मृत्यु भएपछि मात्रै डा. पाण्डे छात्रवृत्ति करार सेवामै रहेर निजी अस्पतालमा समेत चिकित्सकीय सेवा दिइरहेको विषय बाहिर आएको हो।
यस घटनामा सरकारी अस्पतालको कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गरेको हो कि होइन भन्ने अर्को कानुनी प्रश्नसमेत उठेको छ। उपलब्ध विवरणअनुसार चौधरीको शल्यक्रिया बिहीबार दिउँसो करिब १ बजे केजी हस्पिटलमा गरिएको बताइएको छ।
सरकारी सेवामा कार्यरत चिकित्सकले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा सेवा दिन नपाउने व्यवस्था रहेकाले शल्यक्रियाको समय र डा. पाण्डेको सरकारी ड्युटी समयबीचको अवस्थाबारे समेत छानबिन आवश्यक देखिएको छ।