धनगढीबाट लागु औषध ओसारपसार गर्ने पाँच जना पक्राउ
धनगढीमा लागु औषध ओसारपसारमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिनगर भन्सार नाकामा मोटरसाईकल चेकजाँचका क्रममा लागु औषध सहित तीन जना र धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाबाट दुईजना गरी पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार त्रिनगर भन्सार नाकामा भारतबाट नेपाल तर्फ आउँदै गरेको से ३ प ९५१२ नम्बरको मोटरसाईकलमा लागु औषध ल्याउँदै गरेका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का २० वर्षीय नरेन्द्र विष्ट, बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ५ का १८ वर्षीय मनोज भण्डारी र उनीहरुलाई मोटरसाईकल र खरिदका लागि पैसा दिने धनगढी ३ का ३० वर्षीय सुमित अधिकारी पक्राउ परेका हुन्।
उनीहरुको साथबाट चार ग्राम ९८ मिलिग्राम ब्राउनसुगर, छ ट्याब्लेट स्पामो, पाराभोरीन स्पास १० ट्यावलेट, विन्स स्पास ६ ट्याबलेट र नाईटो भ्याट ५ ट्याबलेट सहित से ३ प ९५१२ नम्बरको मोटरसाईकल बरामद गरिएको हो।
यस्तै मंगलबार नै जुगेडा प्रहरी चौकीबाट खटिएको टोलीलले भारतको सुडाबाट से ६ प ८०४६ नम्बरको मोटरसाईकल चेकजाँचका क्रममा थप दुईजनालाई लागु औषध सहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बोराँडाडीका २६ वर्षीय राम राना र सोही स्थानका १८ वर्षीय सुनिल राना रहेका छन्। उनीहरुको साथबाट दुई ग्राम सात सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरी मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।