कञ्चनपुरमा साढे १० लाखको सामान बरामद, तीन जना पक्राउ
धनगढीः कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याइएका १० लाख ४९ हजार ३८५ रुपैयाँ मूल्य बराबरका सामान प्रहरीले बरामद गरेको छ। अवैध रूपमा भित्र्याइएका सामान बरामद गरी प्रहरीले तीन जनालाई पक्राउसमेत गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कात्तिक ८ र ९ गते जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भित्र्याइएका सामान बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय र मातहतका टोलीबाट तेल, दाल, नरिवल, बिँडी, सुर्ती, खुर्सानी तथा मिठाईलगायतका सामान बरामद गरेको छ। ती सामानको मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ रहेको छ। यस्तै, इलाका प्रहरी कार्यालय गड्डाचौकीले चप्पल, साडी, कपडा, खाद्यान्न तथा किराना सामान गरी १ लाख १६ हजार ३२५ रुपैयाँ मूल्य बराबरका सामान बरामद गरेको छ।
यसैगरी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले साइकलका पाटपुर्जा, प्लास्टिक, ट्युब, डोरी, तेल, मिठाई तथा एउटा मोटरसाइकलसहित एक लाख ८७ हजार ९६० रुपैयाँ मूल्य बराबरका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले ६०० बण्डल बिँडी, प्लास्टिकका झोला, तेल र चिनी गरी तीन लाख १८ हजार ६०० रुपैयाँ मूल्य बराबरका सामानसमेत बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरी चौकी टेडुवाले २० किलो माछा तथा पेय पदार्थ बरामद गरी नष्ट गरेको छ। ती सामानको मूल्य ११ हजार ४०० रुपैयाँ रहेको छ।
यस्तै, भीमदत्त नगरपालिका–१८ स्थित कारागार रोडबाट अवैध सामानसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–२ का ५० वर्षीय लप्टन चौधरी, वडा नम्बर ११ का ४४ वर्षीय किसनदत्त जोशी र वडा नम्बर १७ का ३० वर्षीय लबराज चटौत रहेका छन्।
उनीहरूको साथबाट दुई वटा मोटरसाइकल, मोटरसाइकलका चेन, स्प्रोकेट, ब्रेकसम्बन्धी सामग्री तथा प्लास्टिक बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद मोटरसाइकलको मूल्य एक लाख रुपैयाँ र अन्य सामानको मूल्य ५७ हजार २०० रुपैयाँ गरी कुल एक लाख ५७ हजार २०० रुपैयाँ रहेको छ।
प्रहरीका अनुसार बरामद गरिएका सामान भन्सार कार्यालय पठाइएको छ।